तनहुँ
अवैध क्रसर बन्द गराउन लागिपरेका सिडियोमाथि गृहमन्त्री रामबहादुर थापा बादलले कडा एक्सन लिएका छन् । अवैध र गैरकानुनी क्रसर उद्योगको अनुगमन तीव्र पारिएका तनहुँका प्रजिअ बद्रीनाथ अधिकारीमाथि गृहमन्त्री थापाले कडा एक्सन लिएका हुन् ।
अवैध क्रसर उद्योग बन्द गराएरै छाड्ने अठोट लिएका उनी अवैध क्रसर उद्योगमा अनुगमन गरी मेसिनहरु नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै गृहमन्त्रीले उनको सरुवा गराएका हन् । जिल्लाका अधिकांश क्रसर उद्योग अवैध र गैरकानुनी रुपमा सञ्चालित छन्। ती अवैध र गैरकानुनी क्रसर उद्योगको अनुगमन तीव्र पारिएपछि उनको सरुवा भएको हो ।
गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गरिने त्रासले अधिकारीको सरुवा भएको जनाएको छ। जिल्लामा सार्वजनिक जग्गा नै अतिक्रमण गरी उद्योग सञ्चालन भइरहेका छन्। ‘अवैध तवरले क्रसर चलाउनेहरु विगतमा एलडिओ र सिडियो मात्रै नभई मन्त्री हेरफेर गर्न सक्छन्’, भन्ने भनाइ अहिले प्रजिअको सरुवासँगै सत्य सावित भएको जिल्लावासीले चर्चा गर्ने गरेका छन्।
दिनदहाडै ठुल्ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ चरम दोहन गरिने क्रसरहरुमा सांसदहरुकै संलग्नता रहेको चर्चा चलिरहेकै अवस्थामा प्रजिअ अधिकारी मन्त्रालय तानिएका हुन्। जिल्लाभरका अवैध क्रसरहरुको लिस्ट हातमा लिई बाँकी जिल्ला अनुगमन समितिको टिमसँगै क्रसरहरुको अनुगमनसँगै आक्रामक शैली देखेर विरोधीहरु उनको सरुवाको दौडधुपमा लागेको चर्चा अहिले जिल्लामा चल्न थालेको छ।