लकडाउनका बेला बालुवा तस्करी रोक्न खोज्ने प्रहरी निरीक्षकको सरुवा भएको छ । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीबाट लकडाउनको बेला बालुवा तस्करी गर्नेलाई रोक्दा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको सरुवा भएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्वत पठाएर उनको ठाउँमा विकास थापाको काज सरुवा भएको छ । सुवेदी ५ महिनाअघि मात्र काठमाडौं प्रहरी परिसरबाट तनहुँ सरुवा भएका थिए ।
सुवेदीको टोलीले २ जेठमा मर्स्याङ्दी नदीबाट राति बालुवा तस्करी गर्दैगर्दा ५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएका थिए । ती ट्रयाक्टर छोड्न गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि चुमानको चर्को दबाब आएको र नमान्दा सरुवा गरिएको गण्डकी प्रदेश प्रहरी स्राेतकाे भनाइ छ ।
यसअघि काठमाडौंको कपन प्रभागकी प्रहरी निरीक्षक सुरक्षा केसीको समेत काजसरुवा गरिएकाे थियाे । उनलाई बालुवा उत्खननको विषयमा नगरपालिकासँग विवाद हुँदा ५ महिनामै काज सरुवा गरिएको थियो । प्रहरीमा कार्यरत कार्यालयमा १ वर्ष पुगेपछि मात्र सरुवा गर्ने प्रावधान छ ।