तनहुँ, १५ माघ । तनहुँको याम्पाफाँटका दुग्ध उत्पादक कृषकले वार्षिक दुई करोडभन्दा बढीको दूध बिक्री गर्दै आएका छन् ।
विसं २०५१ मा सहकारी स्थापना गरेर उन्नत जातका पशु पालेर दूध बिक्री गर्न थालेका यस क्षेत्रका कृषकले दैनिक तीन हजार लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको सहकारीका अध्यक्ष छविलाल घिमिरेले जानकारी दिनुभयो ।
उक्त गाउँमा १०० किसानले व्यावसायिक रूपमा करिब ४०० गाई पाल्दै आएका अगुवा कृषक रामप्रसाद तिवारीले बताउनुभयो । याम्पामा व्यावसायिक गाईपालनबाट भएको आम्दानी देखेर विदेश गएका युवासमेत गाउँमा फर्केर पशुपालनतर्फ लागेको उहाँले जानकारी दिनुभयो ।
उक्त क्षेत्रका मानिसले कम्तिमा चार÷पाँचदेखि १५० सम्म गाई पालेको बताइएको छ ।