प्रशन्न पोखरेल
गोरखाको च्याङ्ली र तनहूँको याम्पाफाँट जोड्ने तुइन चुड्दा मस्र्याङ्दी नदीमा खसेर च्याङ्ली ७ गोरखाका ६५ वर्षीय वसन्त अधिकारी बेपत्ता भएका छन् ।
शुक्रबार साँझ छ बजेतिर याम्पाफाँटबाट मस्र्याङ्दी नदीमाथिको तुइन चढेर घर फर्कने क्रममा एक्कासी तुइनको बेरिङ चुँडेर उनी नदीमा खसेका थिए ।
चल्दा चल्दैको तुइन नदीकोबीचमा पुगेपछि रोकिएको र बेरिङको तार चुँडेर अधिकारी नदीमा खसेको उनीसंगै याम्पाबाट फर्केका टेकबहादुर गुरुङले दिएको जानकारीलाई उद्धृत गर्दै उनका छोरा लोकेन्द्र अधिकारीले बताए ।
शुक्रबार राति र शनिबार दिनभरि मस्र्याङ्दी नदीमा खोजतलास गर्दा पनि उनलाई फेला पार्न नसकिएको आँबुखैरेनी इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
‘हामीलाई खबर हुने बित्तिकैदेखि इप्रका आँबुखैरेनीको सात जनाको टोली, पालुंटार इप्रकाको सात जनाको टोली र डुम्रे प्रहरी चौकीका पाँच जनाको टोलीले शनिबार साँझसम्म खोजतलास गर्दा पनि फेला पर्न सकिएको छैन ’ आँबुखैरेनी इलाकाका प्रहरी निरीक्षक श्याम ओलियाले भने ‘मस्र्याङ्दी बाँधदेखि याम्पासम्म बिभिन्न समूह बनाएर प्रहरी र अधिकारीका आफन्तहरुको टोलीले निरन्तर खोजी कार्य अहिले पनि जारी छ ।’
photo : file