Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

बत्तीझै बलेकी बूढीकोट


भगवान खनाल
तपाई बूढीकोट जानुभएको छ ? जानु भएको हो भने कहिले जानुभएको थियो ? उनी पछिल्लो समय बत्तीझैं बलेकी छन् । उज्यालिएकी छन् । चम्मकिली देखिएकी छन् । मुहार हसिलो बनेको छ । एउटी नौजना षोड्शे युवतीजस्ती देखिएकी छन् यतिबेला, बूढीकोट । बुढी स्त्रीसुचक शब्द हो । यसको बनौट बूढोमा ‘इ’ प्रत्यय लागेर बनेको देखिन्छ । नेपाली सागर सोपत्तिक कोशमा यसको अर्थ विशेषणमा उमेर पाकी भएकी, बृद्धा तथा नामको रुपमा पाको उमेरकी आइमाई, पत्नी, स्वास्नी भन्ने उल्लेख छ । बूढीकोट देवीको मन्दिर हो ।dsc08102
गत भदौ ८ गते शनिबार एउटा भव्य समारोहका बीच गोरखा देउराली–९ मा अवस्थित यस मन्दिरको भव्य रुपमा उद्घाटन भएको थियो । करिब पाँच हजारको संख्यामा मानिसहरु सहभागी भएका थिए । होमहोमदी, पूजाआजा, बोकाको बली, पञ्चेबाजा, नाचगानसहित टीका, प्रसाद ग्रहण गरिएको थियो । बूढीकोटको महत्व उजागर गर्दै पर्यटन प्रवर्दन गर्ने हेतुले लिगलिग साहित्य समाज गोरखा र बुढीकोट पर्यटन विकास केन्द्रले भदौ २९ गते शनिबार मन्दिर परिसरमै साहित्यिक कार्यक्रमको आयोजना गरेका छन् । यस अवसरमा राजधानी, गोरखा, तनहुँ, चितवन र पोखराबाट पाहुनाहरु आउने भएका छन् । साहित्यको माध्यमबाट खोज तथा अभिलेखिकरण गरी ओझेलमा रहेका सम्पदालाई उजागार गरी पर्यटनको विकास गर्नु लिगलिग साहित्य समाजको उद्देश्य रहेको सचिव सुरेन्द्र देवकोटा बताउँछन् ।
देउराली गाविसले आर्थिक वर्ष ०६९÷०७० मा १ लाख ५२ हजार रुपैयाँ सहयोग गरेपछि मन्दिरको जीर्णाेद्धार, पाटी निर्माण, पर्खाल र सिढी निर्माण कार्य गरिएको छ । ७ वाइ ७ आकारको सानो भुइँतलाको ढोकाविहीन मन्दिर बनाइएको छ । यसैले चर्चा र प्रसारप्रसारबाट टाढा रहेको बुढीकोट यतिबेला चर्चाको शिखरमा छ । यतिबेला बुढीकोट अस्तित्वको खोजीमा मात्रै हैन, दर्शनार्थी र पाहुनाहरुको स्वागत र सत्कारमा आतुर पनि देखिएको छ । खासगरी मन्दिरभित्र रहेको पूजा गर्ने ढुंगामा देवी आकृतिको तस्बिर क्यामेराहरुमा कैद हुनुले बूढीकोटमा साच्चिकै बुढीदेवी अटल रहेकी प्रष्ट हुन्छ । मन्दिर भित्र पश्चिम भागमा शीर ढल्किएको मूर्ति(पूजा गर्ने ढुंगा)को दायाँभागमा स्त्री मानिसको पुरै मुखाकृति झल्किने गरी घ्याम्ल्याङ सेतोसेतो पछ्यौरा ओढेजस्तो तस्बिरले बूढीकोटमा साक्षात् देवी अटल भइरहेकी प्रतित हुन्छ । यहीं दृश्य अहिले अचम्म भइरहेको छ । मन्दिर जीर्णोद्धार गर्ने क्रममा निर्माण समितिका अध्यक्ष भीमनारायण श्रेष्ठले खिचेको फोटोमा यस्तो दृश्य पहिलोपटक देखेका थिए । प्राचीन समयमा सो ढुंगा कँुदेर बनाइएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
गोरखामा रहेका अरु किल्ला, गढी र कोटहरु मध्ये बुढीकोट एक प्रमुख देवी हुन् । वरिपरीका धुवाँकोट, लकाङकोट, मीरकोट मध्ये बुढीकोट प्रमुख हो भन्ने भनाइ रहेको छ । नाम कसरी बुढीकोट रहन गएको भन्ने लिखत स्थानीय कसैलाई थाहा नभएपनि बूढीकोटको सम्बन्ध ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक र प्राकृतिक रहेको बुझन् गाह्रो छैन । स्थानीयको खोज तथा अनुसन्धान गर्ने पहुँच र अवसर नहुनु र बाहिरीया कसैले पनि अहिलेसम्म यसको खोज तथा अनुसन्धानमा चासो नराख्नुको कारण यस ऐतिहासिक स्थलको आजसम्म प्रचारप्रसार र प्रवद्र्धन हुन सकेको छैन ।

लिखित इतिहास फेला पार्न नसकिएपनि मन्दिर, पर्खाल, टुडिँखेल, चौतारा, गढी, इनार, लगायतले बूढीकोट कुनै बेलाको राज्य वा शासनको किल्ला थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । शाह राजाहरुको राजधानी गोरखा रहेको बेला विभिन्न कोट वा गढीहरुको स्थापना गरी सैनिकहरु राखेर गोरखा राज्यको सुरक्षा गरिएको हुन सक्ने आँकलन पनि गर्न सकिन्छ । उता गोरखा राज्यको स्थापना गरिनुअघि बाइसीचौबिसे राजारजौटाहरुले भुरे टाकुरे राज्य बनाएर कसैले शासन गरेको पनि हुन सक्ने अनुमान गर्न गाह्रो छैन । रानी पाइला, राजाको सिरानी ढुंगा, रानीपानी, रानीबारी खेत, रानी ओडार जस्ता अहिले पनि प्रचलित ठाउँ र वस्तुको कारण पनि बूढीकोट ऐतिहासिक स्थल थियो भन्न सकिन्छ । इतिहासमा यहाँ कसैले बसेर राज्य गरेको भन्ने कुरा यहाँ रहेका गढीचौतारा, गढी,दरबारको पर्खाल, बैठक घर आदिले प्रष्ट पार्छ । त्यस्तो डाँडामा पनि गढी भन्ने ठाउँभन्दा केही पूर्वदिशामा खानेपानीको इनार रहेको छ । यसैगरी चन्देनी, तोपले होनिएको भनिएको ढुंगा, टुडिखेल, गुफा, फिडकिरी ढुंगो, ओखल लगायतका भग्नावशेषहरु छन् । देउराली ७ सिम्लेफाँटमा असार १५ मा हिलो खेल्न राजारानी जाने भएकोले खेतको नामै रानीबारी भन्ने गरिएको जनश्रुति सुन्न पाइन्छ । हटियाको रानीपानी रानीले पानी खानेगरेको स्थान हो भन्ने जनश्रुति पाइन्छ । पिङ खेल्ने घरको अपभ्रंश भएर प्युघर भएको भन्ने सुनिन्छ । प्युघरमा अहिले पनि पिङ खेल्ने घरको भग्नावशेष देखिन्छ । ठकुरी वंशीहरुले घरभित्रै महिलाहरुको मनोरन्जनको लागि पिङ लगायतका साधन राखिएको घरलाई पिङघर भनिएको थियो भन्ने सुनिन्छ । छाकुको वनमा रानी लुकीमारी खेल्ने रानी ओडार रहेको भन्ने विश्वास छ । यी पृथक पहिचानको कारण बुढीकोट प्रसिद्ध छ । यसको प्रसिद्धीलाई थप उचाइमा पुराएर बुढीकोटको पर्यटन विकास गर्नु श्रेयस्कर हुन्छ । यसको उचाइ अनुमानित १ हजार ३ सय फिट जति रहेको छ । सात बिसे देउराली रहेको बेला देउरालीका अरु थुम र शक्तिहरु सहित बूढीकोटको समेत गरी एकैठाउँमा अक्षतापाती घोलेर ती शक्तिपीठहरुमा पनि पुराउने र घरघरमा पनि लैजाने गरिने प्रचलन रहेको थियो । चार वर्षसम्म मन्दिरको पूजारी भएर काम गरेका स्थानीय कृष्णबहादुर कार्कीले भनें, “वर्षको एकपल्ट वैशाख महिनामा बाजागाजा सहित पूजाआजा गर्ने चलन थियो ।” स्थानीयहरु लामो खडेरी पर्दा बुढीकोटमा बाजा गाजा सहित पूजाआजा गर्थे र पुजा गरेर फर्किएर गढीमा पुग्दा मुसलधारे पानी पनि आएको भोगिएको अरु पनि सुनाउँछन् । देउराली ं ९ प्युघर निवासी पराक्रमको नाति शाही नेपाली सेनाका उपसेनानी लप्टन चक्रबहादुर(टीकाजंग) शाहको नामको
मन्दिरमा रहेको एक ढुंगाको सिलालेखमा यसरी लेखिएको छ– “ श्री कालिका माइ शरण, मनकामनामाइ शरण । स्वास्ती श्री वि.सं २०३५ साल माघ १० गते श्री पञ्चमी तिथीमा श्री ३ बुडीदेवी माइको पैलेको मन्दिर साडी(सारी) भत्की पाताल भएकोलाई हल अग्राखको थाम ढुंगा छानो भई तावोको घण्टा, गजुर र २००९ लेखिएको २ सेर ३ पाउको ढलौट घण्टा समेत सुसोभित गराई अखण्ड सद्भक्तीपूर्वक नयाँ मन्दिर निर्माण गराई होमयज्ञादी पञ्चवली समेत अर्पण गर्ने उनै माइको छत्रछायाँ….।̏ यो सिलालेखको आधारमा मन्दिरको एकपटक जिर्णाद्धार गरिएको देखिन्छ भने विधिपूर्वक पूजाआजा र पूजागर्ने तिथी, होमहोमादी र पञ्चवलीसमेत दिन सकिने देखिन्छ । उता प्युघरमा अहिलेपनि शाहहरुको बसोबास रहेको छ ।
देउरालीको मुकाम हटियाबाट करिब एक घण्टाको ठाडो बाटो हिडेर बुढीकोट मन्दिर पुगिन्छ । हटियाबाट भीमनारायण श्रेष्ठ ३ हजार २ सय पाइलामा मन्दिरमा पुगेको बताउँछन् । हटिया बाहेक छाकुको फोक्सिङको वनको बाटो हुदै वा प्युघरगाउँ हुदै र सलाङगिरीको बाटो पनि बुढीकोटमा पुग्न सकिन्छ । बाटोमा ठाउँठाउँमा बस्दै, तस्बिरहरु खिच्दै सालको मनमोहक वन र स्लेट बन्ने मार्बल ढुंगाहरुमा बस्दैबस्दै बुढीकोट सजिलोगरी उक्लिन सकिन्छ । अझ कतै त बुट्यानमा समाउँदै जाने हो क्लाम्बिङ गरेसरह हुन्छ । चट्टाननै चट्टानको थुप्रो हो बुढीकोट । जति माथि उक्लियो उतिउति छ्याउकिरीको चिरविरावहटले सांगीतिक झंकारको झल्को दिन्छ । वनैवनको बीचमा सफा, सुशील र स्निग्ध बुढीकोट प्रकृतिको अपार उपहार भएको देउराली गाविसका निवर्तमान अध्यक्ष ऋषी खनाल बताउँछन् । वरिपरिका मनकामना, छिम्केश्वरी लगायतका मन्दिरहरु मध्ये सबैभन्दा जेठी दिदी भएकीले यस मन्दिरको नाम बुढीकोट रहन गएको खनाल बताउँछन् । मन्दिरबाट गोरखामुकामदेखि उत्तर हिमालयसम्म र मरस्र्याङी उपत्याकासहित पत्रैपत्र भएको पहाडी वस्तीको सुन्दर दृश्य देख्न सकिन्छ । छिनछिनमा बादल लागिरहने र हुस्सु टाँसिरहने बूढीकोट एक किसिमको पहाडी लेक नै हो ।
देउरालीको मुकाम हटियासम्म जाने कच्ची सडक छ । बर्खामा गाडी नचलेपनि हिउँदमा जेनतेन चल्छ । हटियासम्म बाह्रै महिना सवारी चल्न सक्ने बाटो बनाउन सके बुढीकोट जान खासै समस्या छैन । गफैगफमा पहाडी दृश्यहरु हेर्दै, सुसेल्दै मन्दिरमा जान सकिन्छ । झर्दा ओरालो भएको हुनाले खासै समस्या छैन । ऐतिहासिक रामशाहघाट र बुढीकोट मन्दिरलाई एउटै प्याकेजमा राखेर एकीकृत पर्यटन विकासको गुरुयोजना तयार गर्न सकेमा बुढीकोटको पर्यटन विकास गर्न सकिन्छ । यसको लागि ऐतिहासिक रामशाहघाट र यहाँ रहेको ऐतिहासिक लक्ष्मीनारायण मन्दिरको संरक्षण गरिनुपर्छ । खासगरी पयर्टन विकासका पूर्वाधारहरुमा पैदल वा सवारी चल्ने बाटो, खानेपानी, सरसफाइ आदि अनिवार्य सर्तहरु हुन् । यसैले हटिया जाने सडक ग्राभेल र पीच गर्ने, हटिया र वरपर खानेपानीको यथोचित प्रबन्ध गर्नुपर्छ । हटिया चिसो र वातानूकुलित ठाउँ छ । यहाँ गर्मीमा पनि पंखा चाहिदैन । यहाँको वातावरणीय स्वच्छता तथा सरसफाइमा ध्यान पुराउन सके बुढीकोट मन्दिरमा पर्यटक भित्राउन खासै समस्या छैन । मन्दिर जानेले कम्तिमा पनि दुई लिटर पिउने पानी लैजानु अनिवार्य छ । उता देउराली खुला दिशामुक्त भइसकेको छ । पर्यटन विकासमा प्रचारप्रसारको बहुतै ठूलो भूमिका रहेकोले एकपटक आएका एक श्रद्धालु, भक्तजनले मुखैमुखले अरु दुईचार जना पर्यटकलाई बुढीकोट पु–याउन सक्ने वातावरण पहिलो चरणमा मात्र हुन सकेमा पनि बुढीकोट मन्दिरमा दर्शनार्थी र भक्तालुहरुको संख्या बढ्नेछन् । यो क्रम जारी रहेमा बुढीकोटको पर्यटन विकास फस्टाउनेछ । यस्तै सामाजिक मिडियाबाट प्रचारप्रसार भएमा यहाँको पर्यटन विकासको द्धार उघ्रिनेछ । कोदोको ढेडों, मकैको आँटो, गुन्द्रुकको आचारको साथमा स्थानीय कुखुराको परिकार बनाएर स्वाद चखाउन सके पाहुनाहरु खोजिखोजि देउरालीडाँडा आउनेछन् ।
खासगरी बूढीकोटको पूर्वाधार विकासमा योजनाको खाँचो पनि पहिलो चरणको आवश्यकता हो । यसको लागि जिल्ला प्राविधिक कार्यालय वा शहरी विकास तथा भौतिक निर्माण डिभिजन कार्यालय गोरखाले बुढीकोट परिसरमा पर्यटन विकास गर्न प्राविधिक अध्ययन गरी योजनाबद्ध खाका तयार गरेर सहयोग गर्न सक्छन् । भौतिक डिभिजन कार्यालयले तनहुँको छिम्केश्वरी मन्दिररको गुरुयोजना तयार गरी सालिन्दा त्यहाँको पूर्वाधार विकासमा टेवा गर्दै आएको छ । यस्तै गुरुयोजना बुढीकोटको सवालमा पनि आवश्यक छ । जिल्ला पर्यटन विकास समितिसँग बूढीकोटको सम्बन्ध स्थापित हुन आवश्यक छ । एक दिन वा एक रातको छोटो मीठो कार्यक्रमको रुपमा बूढीकोटलाई प्रस्तावित गर्न सक्छ । पर्यटन बेच्न पनि जान्नु पर्ने क्षेत्र भएकोले बजारीकरण गर्न सके किन्नेको ओइरो लाग्ने बताउँछन् निवर्तमान गाविस अध्यक्ष खनाल । बालुवामा पर्यटन विकास भएका धेरै उदाहरण संसारमा भएकोले बूढीकोटको पर्यटन विकास गर्न सकिनेमा कसैको दुईमत नरहेको उनको कथन छ ।
बुढीकोटको संरक्षण र संवद्र्धन गर्दै बुढीकोटको पर्यटन विकास गर्ने उद्देश्यले स्थानीयहरुको पहलमा बुढीकोट पर्यटन विकास केन्द्र समेत बनेको छ । यसले स्थानीय क्षेत्रदेखि केन्द्रीय सरकारी एवं गैरसरकारी निकायसँग सम्बन्ध स्थापित गरी बूढीकोटको एकीकृत पर्यटन विकासमा भूमिका खेल्ने सामाथ्र्य राख्नुपर्छ । यसको लागि पैसा हैन, योजना खोज्नु बुद्धिमानी हुने देखिन्छ । योजना के हो ? किन चाहिन्छ ? कसले बनाउँछ ? दिन्छ ? योजना बनाउन र माग्न कहाँ जाने ? भन्ने हेतुले काम गरौं । आएका योजनालाई सफलीभूत पार्न स्थानीयको चासो, लगाब बढेमा बूढीकोटमा पर्यटन विकासको प्रशस्तै संभावना छ र यो अवस्था आउन धेरै वर्ष कुर्नु नपर्ने पनि देखिन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 12, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: