आँबुखैरेनी, १० भदौ
आँबुखैरेनी गाविसको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०६९÷०७० को आय व्यय र कार्यक्रमको बारेमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको हो । गाविसले पहिलोपटक नागरिकसँग प्रत्यक्ष सात्क्षाकार गरी सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गरेको गाविस सचिव बुद्धिप्रसाद भुषालले जानकारी दिए ।
गाविसले गत आर्थिक वर्षमा कुल आम्दानी खर्च १ करोड ३१ लाख ७३ हजार ६४ रुपैयाँ रहेको गाविस सचिव बुद्धिप्रसाद भुषालले जानकारी दिए । सो अवसरमा नागरिकले राखेका प्रश्नको जवाफ कार्यालय सचिव बुद्धिप्रसाद भुषालले दिएका थिए ।
नागरिकहरुले योजना बनाउँदा सर्वसुलभ योजना बनाउन माग गरेका थिए । स्थानीय रामचन्द्र पण्डितले गाविसले उपभोक्ता समितिहरुलाई कार्यक्रम संचालन गर्नु अघि अभिमुखीकरण तालिम दिएमा योजना सम्पन्न गर्न, फस्र्यौट गर्न सहज हुने धारणा राखेका थिए ।
सार्वजनिक सुनुवाइको प्रमुख अतिथी जिविस तनहुँका सूचना अधिकृत राजेन्द्र कार्की थिए भने गाविस संचालन बोर्डका तर्फबाट कृषि कार्यालयका प्रमुख खितकुमार श्रेष्ठ, एनेकपा माओवादीका प्रेमबहादुर गुरुङ, नेपाली काँग्रेसका शालिग्राम अधिकारी, एमालेका विरबहादुर वि.क, राष्ट्रिय जनमुक्ति पाटीका इन्द्रबहादुर मास्की, सद्भावना पाटीका बाबुराम शर्मा उपस्थित थिए ।
तस्बिर ः सार्वजनिक सुनुवाइ गरिदै ।