भगवान खनाल
साउन २३
गोरखा देउराली ९ को बुढीकोटमा पर्यटन विकास गर्न स्थानीयको चासो ह्वात्तै बढेको छ । आगामी भदौ २९ गते लिगलिग साहित्य समाजले बुढीकोट पर्यटकीय साहित्यिक यात्रा गर्ने कार्यक्रम तय भएपछि स्थानीय स्तरमा बुढीकोटको पर्यटन विकासमा चासो बढेको हो । यस अघि बुढीकोट मन्दिरको प्रर्बद्र्धन गर्न देउराली गाविसले १ लाख ६० हजार रुपैयाँ दिएको थियो । गाविसको सहयोगबाट स्थानीय बुढीकोट पूर्वाधार निर्माण समितिले मन्दिरको जीर्णाद्धार, पाटी निर्माण, कम्पाउण्ड निर्माण गर्ने र केही सिंढीहरु बनाउने कार्य गरेको थियो । बुढीकोटमा प्रर्बद्र्धनात्मक कार्य भइरहेको बखत लिगलिग साहित्य समाजले थप कार्यक्रम राखेपछि बुढीकोटमा पर्यटन विकास गर्ने कार्यको चासो गाविसभर बढेको हो । स्थानीयले बाटो फाड्ने, बाटो सजिलो बनाउने लगायतका कार्य गरेको स्थानीय युवा कृष्ण काराखेतीले बताए । गाउँलेहरुले सो अवसरमा अतिथीहरुलाई साँस्कृतिक स्वाद समेत पस्कने तयारी गरिरहेको काराखेतीले जानकारी दिए । स्थानीयहरुको भेलाले गत शनिबार बुढीकोट पर्यटन विकास समितिको गठन समेत गरेको छन् । यसैबीच देउराली गाविसले बुढीकोट पर्यटकीय साहित्यिक कार्यक्रमको लागि बुधबार २५ हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको गाविस सचिव रामप्रकाश चौधरीले बताए ।