भगवान खनाल
डर अनि बढी डर भएपछि के हुन्छ ? सबैका आआफ्नै भोगाइ र सिद्दान्त हुन्छन् । मलाई भने डर, त्यो पनि आजै मरिन्छ, सिद्दिन्छु भन्ने भएपछि शौचादिले अति नै बढी च्याप्यो । शौचादि त्याग गर्न घर भित्रकै शौचालय जान नसकेर कोठाभित्रै पिसाबका धारा बगाएँ अनि पत्रिकामा दिशा गर्न बाध्य भएँ । त्यसलाई भोलिपल्ट सखारै भालेको डाँकमा हुत्याउँदा सात्रपत्रे फर्किएर आयो । शायद डरपोकहरु सँग यस्तै अनुभव बढी होलान्कि !
०६२ चैतको २२ गते रातको पौने ९ बजेको छ । म कोठामै खाना खाएर बार्दलीमा यस्सो कुल्ला गर्न निस्केको छु । एकैचोटि मुकामभरि लाइट आउट भयो । अनि कमाण्डिङ गरेको आवाज सुनियो । गोलीका पर्राहरु छुट्न थाले । मानिसहरु कराउन थाले । प्रतिरोधमा थरीथरीका हतियारहरुका आवाज आयो । त्यो रहेछ, माओवादीको मलगंवा हमला । भीषण भीडन्त भयो । नबलपुरको सेनाको ब्यारेकलाई बीचैमा रोकेका थिए ।
१९ गते नयाँ डेरामा के सरेको मात्र थिएँ भीडन्तको साक्षी बस्नु पर्यो । जीवनको स्वभीख माग्दैमाग्दै रात काट्न पर्यो । कम प्रकाश छिर्ने र बढ्दो गर्मीसँगै पौठेजोरी खेल्न नसक्ने देखेर डेरा सर्ने निर्णय लिएको थिएँ । नयाँ डेरा नयाँ घरमा थियो । एकतला माथि, उज्यालो, हावा खेल्ने विशेषताको थियो । खाना कहिले कोठामा आफैं पकाउँथे भने प्रायजसो होटलमा खान्थे । खास घर उदयपुर भएकी एक राई दिदीको सानो मेसजस्तो(प्रायजसो कर्मचारीले मात्र खान्थे) होटल थियो । उनका श्रीमान् भाइ उमेरका देखिन्थे । शायद ती दिदीको दोश्रो विवाह हुनुपर्छ, ती दिदीले कहिल्यै पनि बूढा भनेर बोलाएको सुनिन मैले । दिन रमाइलो चलिरहेको थियो । मेसको वातावरण पुरै पहाडिया नै थियो । गाविस सचिवहरु, जिविसका कर्मचारीहरु, शिक्षाका कर्मचारी लगायत बाहिरका हामीहरु खाना खादावर्दा गफगाफ हुदा रमाइलो हुन्थ्यो ।
०६१ सालमा स्नातकोत्तरको पढाइ पुरा भएपछि मैले एउटा विज्ञापनमा दरखास्त दिएँ । सर्लाही मलंगवाको सर्लाही क्याम्पसको विज्ञापन थियो त्यो । म छनौटमा परें र शिक्षक भएँ । त्यतिबेला तलब तोकियो ७ हजार ७ सय । देहात र पहाडिया ठिटो । नयाँ ठाउँमा काम र बसाइँ उतिसारो नरमाइलो त थिएन् तर, घर आएर फर्किदा महेन्द्र राजमार्गको नवलपुरबाट मलंगवा जाने सडक छिरेपछि चाहिँ मन अमिलिन्थ्यो । भारतै पसेजस्तो लाग्थ्यो । पहाडमा घरको आँगनमा बस्तुभाउ बान्दैनन् । घरको दायाँबायाँ ससाना गोठ हुन्छ बस्तुभाउ पाल्ने । तर, तराईमा भने ठ्याक्कै आँगनमै गोरु, भैंसी र गाई बान्दारहेछन् । ठूला ठूला दानापानी खुवाउने कराई आकारका भाँडा अनि नाक छोडेका भैंसी र गोरु आँगनमा किला ठोकेर राखिएको देख्दा नयाँ लाग्थ्यो । ससाना झुपडी घुरुम्तै एकै आँगनमा जस्तो देख्दा पक्कै गरिबीको झनक आउँथ्यो ।
चैत २२ गते रातभर भीडन्त भयो । एक निमेष पनि परेली नजोडिकन प्रयत्क्ष भीडन्तको भोगाइ प्राप्त भयो । यसो आन्दोलन, जुलुश र कार्यक्रम तिर जादा हतियारधारी पुलिस, सैनिक देख्दा पनि झसंग हुन्थे । तर त्यो रात बम र गोलीका आवाजले कानका जालीहरु छियाछिया भएका थिए । जति रात छिपिप्दै गयो, भीडन्त एकटकले निरन्तर जारी रह्यो । माओवादीले पक्षले भनेको छ, ̏झ्यालबाट नहर्नु, खाटमुनि सुत्नु, यो लडाइँ जनताको जीतको लागि हो, जनतालाई केही हुदैन । शत्रुपक्ष हामीले मलगंवा कब्जा गरिसकेका छौं, आत्मसमर्पण गर आदि ।” पुलिसले जनतालाई ढाडस दिदै भन्थ्यो, ”नआत्तिनुस्, हामीले हराइसकेका छौं आदिआदि ।” मेरो नयाँ डेरा जिल्ला प्रशासन कार्यालयको ठीक विपरित दिशामा, जिविसको दायाँतिर र इलाका प्रशासनको आडैमा थियो ।
जिविस पिढीमा रात बसेको भ्यान केटाकेटी र आइमाइले हाहा र हुहु गर्दै ख्यालख्यालमै जलाए । हुर्रहुर्रति बल्यो त्यो नयाँ मोटर । एक निमेषमै जलाए उनीहरुले विध्न बाधा । जिविसको पियन वा चौकीदारको के लाग्थ्योे, त्यत्रो महाभीडन्त चलिरहेको छ उता,जेल, मालपोत, पुलिस कार्यालय, बैक, शसस्त्रको क्याम्पमा । उनीहरुको हुँकार मैले झ्यालबाट हेरिरहे । लाग्यो थपप्डी बजाउँबजाउँ । उही जाउँजाउँ । जिन्दावाद र मूर्दावाद भनुँ जस्तो । जसरी जनआन्दोलनमा आम नेपालीले भनेका थिएनी । तर मसँग त्यस्तो तागत र शुरो मुटु कहाँ थियो ? म आजको रात तुरुन्तै उज्यालोमा बदिलियोस् भन्ने चाहना राखेर बाँचेको मात्र छु । त्यतिबेला ज्ञानेन्द्र शासन थियो । उनले जिविस र नगरको भारदारी संरचना बनाएका थिए । म गएको भोलिपल्ट राजाले बनाएको जिविस सभापति पनि त्यही घरमा डेरा लिन आइपुगे । उनी र म बीच चिनजान भयो । तिनको नाम भुले, यादव वा साह थरका थिएँ ती सभापति । उनी मलाई खनालजी भन्थे । पानचिया खानपिउनसँगै जाउ भन्थे ।
भीडन्त चल्दै गर्दा ढोका ढकढकाएको आवाज आयो र सँगै सुस्तरी बोली । चर्कदो भीडन्त बीच तिनै सभापतिले मलाई बोलाएका थिए, ̏खनाल जी, खनाल जी ढोका खोल्नुस्, एकै ठाउँमा बसौं, नभए भाँगू यहाँबाट ।” मैले भनें, ̏कहाँ भाग्ने ?” जवाफ दिए, ̏सोनवर्षातिर ।” ̏मरिन्छ, हुदैन,” मैले भनें, ̏मार्छन् ।” उनी चुप बसे । डेराघरको अवस्थितको कारण अलि बढी नै डर भयो क्या । नजिकैका सरकारी कार्यालयका कारण हमला र आक्रमणको ठूलो डर थियो । अझ मलाई भन्दा बढ्दा डर उनलाई थियो । उनी ज्ञानेको सिपाही भएका । चिनेभने सुक्याँइदिन्छन् भन्थे र टाउको समाउँथे । लामो सास फेर्थे । मैले केही सान्त्वना दिन सकिन । उता मलाई फेरी यस्कै पिछलग्गु रहेछ भनेर भ्याउँछन् कि भन्ने लाग्यो । त्यो मान्छे मेरो कोठामा आएपछि झनै डर लाग्यो । दुई तले घरमा दुईवटा कोठा बाहेक सबै खाली थियो । बाहिर गेट नभएको कारण माथिको फ्याल्टमा कुकुर पनि सजिलै आउँन सक्थ्यो । झन् माओवादीलाई आउन केही समस्या छैन भन्ने निष्कर्ष निकालियो । बित्याँसमाथि बित्याँस । उ र म त्यहीं फ्ल्याटको अर्को कोठामा छिर्यौं । त्यो खाली थियो । चैतमा लामखुट्टेको चौपटै बिगबिगी भएपनि डर ठूलो कि टोकाई ठूलो ? भन्ने भएको छ । बेलाबेला लाइटर बाल्थ्यौं । उसले भाँगु भनेको गन्तव्य सोनवर्षा मलगंवासँग सीमा जोडिएको भारतको एक जिल्ला थियो । त्यहाँ केही दिन पहिला किनमेलको लागि गएको थिए । चढ्दो गर्मीमा लगाउन सुतीको सर्ट र जाँघे किनेर ल्याएको थिए । मोल सस्तै थियो । एकजना बसउठिया व्यापारी, जो ओम शान्तिमा लागेका थिए, ले मलाई सोनवर्षा घुमाउन लगेका थिए । गफी र मिजासिला थिए उनी । उनी धनभन्दा मनका धनी थिए । मलाई कहिलेकाहीं उनकै घरमा शाकाहारी खाना खुवाउँथे । रसवरी, खीर, मीठाइ उनको भान्सामा गएर धेरैचोटि खाएको छु मैले । उनको भान्सामा लसुन, प्याज पनि बर्जित थियो ।
हर्दाहेर्दै त्यो गाडी भष्मखरानी भयो । केटाकेटी र स्त्री मानिसहरु युद्ध जितेको भन्दै फर्र्किए । त्यहाँका तत्कालीन सिडिओ वेणीमाधव ढकाल नै हुनुपर्छ क्यार, को, अपहरण भैसक्यो । सिडिओ कार्यालय, जिविस, इलाका प्रशासन सबै माओवादीले एकाध घण्टामै कब्जामा लिन सफल भए । सिडिओ कार्यालयमा आधा घण्टा दह्रो भीडन्त भयो । पहरेदारलाई ढालेपछि सिडिओ कब्जामा परेका रहेछन् । त्यहाँ एक माओवादीले पनि सिल्टिमुर खाएछन् ।
रातको एघार बजेपछि नाइटभिजन हेलिकप्टर आयो । आकाशै थर्काउने गरी आउँदो रहेछ नाइटभिजन हेलिकप्टर । मलाई लाग्थ्यो, अब यो ल्याण्ड गर्छ र भुइँमा सर्च गरी माओवादीलाई थपाउँनेछ । मेरो यो अनुमान अति कोरा सावित भयो । त्यसले ल्याण्ड गर्ने हैन रहेछ, आकाशबाट तोराबोरा बम गिर्राउँदो रहेछ । जब त्यो आउँथ्यो, मलगंवा भरी विष्फोटको आवाज सुनिन्थ्यो । सबै मानिस हायलकायल भएका हुनुपर्छ आवाजले । डरको सीमा रहन्थेन । अध्यारोमा लाइटर बाल्दै कोठामा छिरेर मैले सिमेन्टको तख्तामा रहेको डायरी र कलम छाम्छु । डायरीमा नलेखिएका पाना अनुमान गरेर “अहिले रातको १२ बजेको छ । यहाँ ठूलो भीडन्त भएको छ । मर्ने, बाँच्ने ठेगान छैन । बुबा,आमा, श्रीमति, छोरा, आफन्त र गाउँलेहरु र मलाई चिन्नेहरु म मरेपनि राम्रोसँग बाँच्नु” भन्ने लेखेर सही छाप लगाए । अनि पुन अर्को कोठामा गएँ । मुकामको तल्लो इलाका जहाँ मुख्य बजार क्षेत्र, प्रहरी कार्यालय, बैक, जेल थियो, त्यहाँ भीषण भीडन्त चलिरहेको छ । गोलीका आवाज उस्तै सुनिन्छ । फेरी नाइटभीजन आयो । फ्ल्याटमै भएपनि शौचालय रोडको दिशामा लबीलबी भएर जानुपथ्र्यो । त्यहाँ जाने हिम्मत उसलाई र मलाई थिएन । हामीले धेरै चोटी कोठामा पिसाब फेर्यौं । फेरी नाइटभिजन आयो । मलाई दिशाले च्याप्यो । “ए यादवजी, के गर्ने ?” मैले भनें । उसले भन्यो, “रोक्नुस, नसके यही गर्नुस् ।˝ म कुनै हालतमा त्यस्तो डरका बीच तल्लो कट्टीमा आइसकेकोलाई रोक्न सक्दिनथें । प्लाष्टिक खोजियो । तर पत्रिका भेट्टाए उनले । मलाई दिए । मैले काम फत्ते गरें । पोको पारें । एकछिनमै गन्ध आइहाल्यो । फाल्न जाने आँटै छैन । उनले भनें, “भोलि बिहान फाल्नुहोला ।” डर भएका बेला राम्रै कुरा थियो त्यो ।
तल खपडाको छानो भएको सानो धन्सार जस्तो घर थियो । त्यहाँ एक पूर्वप्रहरीको परिवार थियो । लेखापढीको काम गर्ने ती पूर्वप्रहरीको घरमा चारपाँच जना थिए । रातको एक बजे ती पूर्वप्रहरी चुरोट पोल्दै आए । ढोका ढकढकाए । हामीले सल्लाह गरेर खोलिदियौं । एकछिनमा जहान र बच्चा पनि ल्याए । अब हामी सात जना भयौं । तिनीहरु हेलिकप्टरले माथिबाट बम बर्साउन थालेपछि खपडाको छाना भएको घरले धान्दैन भनेर पक्की घर खोज्दै हाम्रो समीप आएका थिए । पूर्वप्रहरीले आडैका इलाका प्रशासनका हाकिम, अधिकृतलाई एक घण्टा पछि ल्याए । अपहरण गरेर लैजान्छन् कि भन्ने लागेर ती अधिकृतलाई हामी सामु ल्याएका थिए । यसरी दुई बजेतिर आठ जना भयौं । अलिअलि गफबात् गर्यौं । बिहान सवा तीन बजेतिर त्यो नाइटभिजन हेलिकप्टर बिष्फोट भयो । मलगंवा र सोनवर्षा उज्यालो बनाउँदै नाइटभिजन खस्यो । त्यसपछि ठूलो आवाज र विष्फोट सुनिएन । नाइटभिजन आउँदा त्यसलाई बस्न नपाओस् भनी माओवादीले पनि ठूलाठूला आवाजका साथ बम विष्फोट गराउने र उसले माथिबाट बम फाल्दा होसहवाश उडेको थियो । विस्तारै उज्यालो हुदै गएको थियो । साढे चार वा पौने पाँच बजेतिर माओवादी ब्याक भए । प्रहरी कार्यालय अघि पानीको ताल भएको कारण प्रहरी कार्यालय लुट्न सकेनछन् । त्यस्तै बैंकमा बसेको सेनाको सेन्ट्रीले प्रहरी कार्यालयमा विष्फोट गराउन ग्रिनेट मुखमा थुत्नै लागेको बेला माओवादीलाई ठहरै पारिदिएकोले पनि प्रहरी कार्यालय बच्यो । उनीहरुले रातभर बजारक्षेत्र कब्जामा लिएपनि प्रहरीको हातहतियार लुट्न सकेनन् । बैंक पनि सकेनन् क्यारे ।
उज्यालो भएपछि हामी घरको बार्दलीमा उभियौं । सडकमा कोही ओर्लेको छैन । अबेर गरी मानिस सडक तिर आए । म बसेको घर अघि ठूलो चौर छ, त्यसलाई तीन बिगाहा भनिन्थ्यो । मैदानभरी बम र गोलीका खोका भेटियो । त्यो घरको अगाडिको पिल्लर पनि गोलीको निसानामा परेको रहेछ । छोडेको डेरा म बस्ने कोठैमा नाइटभिजनले बम खसालेर उडाएछ । बाटोमा होशियार भएर हिड्नुपर्ने थियो । त्यसपछि नाइटभिजन लडेको ठाउँमा हेर्न गयौं । चैतको धूपमा नाइटभिजनको ककपिट निकै धस्एिको थियो । हेलिकप्टरमा रहने सेनाहरु सबैको मृत्यु भएका थियो । तीन चार जना थिए मृतक सेनाको संख्या । कसैको पर्स उडेको, पर्समा आफन्तको फोटो थियो भने कसैका खुट्टा चुस्ता भित्र थिए । मानिसहरुका लास डढेको र क्षतविक्षत थियो । अनुहार चिन्न सक्ने अवस्थामा थिएन । टुक्राटुक्रा संकलन गरिएको थियो । धन्न बस्तीको माझ नखसेकोले अन्यको हाताहती हुन पाएन् । सरकारले प्राविधिक समस्याले खसेको भनेपनि माओवादीले चाहिँ उसैले खसाएको हो भनेर जिद्दि गरेको थियो । शायद नाइटभिजन खसेको वा खसाइएको जे भएपनि पहिलोपटक त्यही मलंगवा भीडन्तैमा हो जस्तो लाग्छ, दश वर्षमा । मलंगवामा धनबहादुर मास्की राजेशले कामण्ड गरेका रहेछन् माओवादीका तर्फबाट । त्यसपछि चैत २६ मा पूर्वी जिल्ला शायद रामेछापमा सानो भीडन्त भएपछि माओवादीको लडाइँ समाप्त भएको जस्तो लाग्छ मलाई । ज्ञानेन्द्र विरुद्ध सबै शक्ति एक ठाउँमा आई ०६२÷०६३ को जनआन्दोलन भयो ।
बमको आवाजले टेलिफोनको रिसिभर बज्दा, हावाको झोक्कामा ढोका ठोकिंदा पनि धेरै पछिसम्म पनि म झस्कन्थे । डराउँथे ।
लडाइँ र भीडन्तमा मानिस सुरा पनि हुदारहेछन् । खास फिल्डमा उत्रने योद्धालाई ज्यान बचाउनुसँगै युद्ध जित्नुसँग सरोकार हुदो रहेछ भने कहिल्यै भीडन्त वा लडाइँको अनुभव नगरेका सर्वसाधरणलाई डर र ज्यान बचाउने मात्रै माया हुदो रहेछ । एकपटक परेकालाई खासै त्यस्तो डर नहुने रहेछ । उनीहरु विना डर सुत्न र निदाउन सक्ने पनि रहेछन् । यस्तै अनुभव सुनाएका थिइन, सोलुखुम्ब भीडन्त वेहोरेकि महिला विकासकी कर्मचारी सञ्जिता गिरीले ।
bhagawankhanal@gmail.com