Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

ह्याँगओभर एसएलसी २०६९


भगवान खनाल
भन्नुस त, के एसएलसी परीक्षा भाग्यको खेल हो ? हैन कसरी भन्ने ? हो कसरी भन्ने ? हैन भनुँ भने धेरै ती ५९ प्रतिशत परीक्षार्थीहरु लडेर जम्मा ४१ प्रतिशत मात्रै सफल भए । हो भनुँ भने, ५९ प्रतिशतमा पर्ने सबै अभागी हुन् त ? के उनीहरुसँग ज्ञान, सीप र धारणा नभएकै हो त ? के गरिखादैनन् र ? कुरा भाग्यको खेलको कदापि हैन । न हो फलामे जंजिरको नै । एसएलसी परीक्षा दश वर्षको अनवरत अध्ययन, शिक्षा, ज्ञान सीप प्राप्ति पछि निरन्तर रुपमा लिइने परीक्षा हो । यसपटक एलएलसीकै चर्चा गरौं । slc
यतिबेला शिक्षकलाई लागेको छ, पढाउनु पढाइएकै छ । हामीलाई पनि यसरीनै पढाउँथे, सिकाउँथे । उसैगरी पढाएकै छौं, सक्दो गरेकै छौं । यति गर्दागर्दै पनि नतिजा आउँछ ५९ प्रतिशत असफल भएको । सफल गराउन लागिपर्दा असफलको श्रृंखलाबद्ध नतिजा आइरहनु चानुचुने विषय हैन । एसएलसीको नतिजा आएपछि सालिन्दा सबैले आआफ्नो ठाउँबाट कोकोहोलो हाल्छन् । यो भएन, उ भएन, यसो भएको भए राम्रो हुन्थ्यो भन्ने । धेरै दोष शिक्षक(सरकारीलाई मात्रै) का पोल्टामा थोपरिन्छन् किनकी धेरै विद्यार्थी सरकारी विद्यालयकै असफल हुन्छन् । यो पाली सरकारी विद्यालयबाट परीक्षा दिने ७२ प्रतिशत विद्यार्थी एसएलसी परीक्षामा असफल रहेको बताइएको छ । जति तालिम घिचाएपनि बान्ता नगर्ने अघोरी शिक्षकले गर्दा नतिजामा सुधार हुन नसकेको हो भनेर शिक्षाविद्हरुले सत्तोसराप बर्षेनी गर्छन् । सल्लाह र सुझाव दिनेहरुको कुनै कमी हुदैन ।
एसएलसीको नतिजाले शिक्षा मन्त्रालय मातहतका सबै निकाय, विद्यालय,शिक्षक र शिक्षाविद्को बाह्र बजेको छ । नीति र कार्यक्रम बेठीक हो कि ?कमजोर कार्यन्वयन हो कि ? शिक्षक अक्षम हुन् कि ? पढाउनुभन्दा गैर पढाइ क्रियाकलाप गर्छन् कि ? अभिभावकले के भूमिका खेले त ? समुदाय सहयोगी पो छैनकि ? डिजिटल भनिने पुस्ताको दोष बढी हो कि ? पाठ्यक्रम र पाठ्यपुस्तकमा दोष र समयमा आपूर्ति हुन नसक्नु हो कि ? परीक्षा र परीक्षण प्रणाली कडा वा नरम के हो ? तालिम बढी भएको होकि नपुगेको वा तालिमलाई कक्षाकोठामा नलगिएको के हो ? आदि सबालहरु सालिन्दा उठान भएपनि सुधार भने देखिदैन । नत्र त आठवर्षको एसएलसीको परिणमालाई विश्लेषण गर्दा सालिन्दा घटेर जानुको कारण के हो ? मानिसहरु सुधार हुन्छ भन्ने अपेक्षा राख्छन् । नेपालको सन्दर्भमा त्यस्तो हुन सकेको छैन । बरविचरा एसएलसीको नतिजापछि बहुँसंख्यक सरकारी शिक्षकहरु टाँगमा पुच्छर हालेर हिडेका छन् । हक, अधिकार र राजनितिक सौदाबाजीको लागि जे गर्न पनि तयार हुने सरकारी शिक्षकहरुलाई प्रवेशिका परीक्षाको परीक्षाफलको ह्याँगओभर छ । खुम्चिएका ललाटमा गिरेको मनोबल बोकेर उही कुम्हालेको चक्र घुमाइरहेका छन् । बाटोमा हिड्दा अभिभावकले प्याप्च जे भनेपनि हस् हजुर भनेर लामो फड्का चाल्नुपर्ने दशा आइलागेको छ । अभिभावकहरुले सोधिरहेका छन्, तिम्रा छोराछोरी कहाँ पढाएका छौं ? शहरी र अर्धशहरी इलाकाहरुमा अपवादमा बाहेक सबै सरकारी शिक्षकका छोराछोरी निजी विद्यालयमा भर्ती भएका छन् । त्यहाँका हनोहार सिपाही भएका छन् । अभिभावकले पुनप्रश्न गरेका छन्, उसो भए, तिमीहरुलाई आफ्नै कामको विश्वास रहेनछ हगी ? के भन्ने शिक्षकहरु नाजवाफ भएका छन् । तर, ती शिक्षकहरु विज्ञ पल्टिन्छन् । विज्ञताको घमण्ड गर्छन् । पेशागत राजनितिक संगठनको धक्कु लगाउँछन् । अनि बिचरा अभिभावक अर्कोदिन फेरी शिक्षकको पछि दगुर्न बाध्य हुन्छन् ।
तालिमले खारिएका, तालिम घिचेका सरकारी शिक्षकहरु फेरी पनि तालिमका भोका बन्छन् । कारण थाहा छ, अड्कलेर दिइने भत्ता आउँछ, अनि बढुवा हुन् अंक पुग्छ । यो सिवाय तालिमलाई कक्षाकोठामा लैजान तिनका हिम्मत छैन । अनि भन्छन्, कतै विद्यार्थी नै छैनन्, कतै धेरै छन् । उता निजी विद्यालयका शिक्षकले केही पाएका छैन । उनीहरुलाई केही चाहिँदापनि चाहिँदैन । आफैं दाहिन्छन् । उनीहरुलाई तालिम सालिम, जागिर स्थायी अस्थायी, कम वा बढी तलब सुविधा, विद्यार्थी संख्या कम धेरै केहीले फरक पार्दैन । उनीहरु मेसिन जस्तै काम गर्छन् । आठ नौ घण्टी पढाएर पनि गृहकार्य साविक उर्ताछन् । हैन, निजी विद्यालयका विद्यार्थी नै जान्ने हुन् त ? अंग्रेजी माध्यमकै कारण राम्रो बनेका हुन त ? सरकारी शिक्षकहरु कम पिरियड पढाउँछन् । गृहकार्य परीक्षण गर्दैनन् । गर्छन् खाली आलटाल मात्रै । मलमुत्र त्यागको निहुँमा शौचालयमा दिनको दशौं चोटि पुग्छन् । सकेसम्म कामचोर तरीका अपनाउँछन् । यहाँनेर निजीको व्यवस्थापन, प्रशासन, विद्यार्थीलाई प्रदान गरिएको सुविधा, समयको लगानी, पढाउने शैली स्वतस्र्फूतः गतिलो भएको तथ्यलाई बग्याउनु हुदैन । त्यसो भए सबै सरकारी विद्यालयमा निजीको सिको किन नगर्ने त ? समय, अनुशासन, भौतिक सेवा सुविधा, व्यवस्थापन, प्रशासन निजीको सरह गरेपछि शिक्षक मात्रै सरकारी किन बनाउने त ? के सरकारी शिक्षक तयार छन्, आफू निजी बन्न ? सरकारी विद्यालयमा सरकारी ब्रान्डको अगतिलो मानसिकता हावी छ । उनीहरुले पढाएका कुनै पनि कक्षामा औषत उपलब्धी पनि प्राप्त भएको छैन । त्यसो हुदाहुदा पनि किन एकलाख भन्दा बढी शिक्षकलाई पालिरहेको छ सरकार ? के यसमा सरकारले ध्यान दिएको छ ? सरकारी विद्यालयमा पनि निजी शिक्षक राम्रा छन् । बढी घोटिन्छन् । उनैलाई पेल्छ, प्रधानाध्यापक । के यही हो तरीका ? सरकारी विद्यालय राम्रो बनाउन स्थायी शिक्षकलाई घरपायक बनाउनु हुदैन । दुई दुई वर्षमा सरुवा गर्नुपर्छ । हुन्छ त ? तयार छ, शिक्षक यूनियन र पाटी पिच्छेका संगठन ?

सरकारी शिक्षकहरु सरकारी भएका कारण निबेके बनेका हुन् । स्थायी भएका कारण प्रधानाध्यापक, विद्यालय निरीक्षक, नाम मात्रको अध्यक्ष कसैसँग डराउँदैनन् । परिणाम जे होस्होस्, बीस वर्ष पुराउन आतुर छन् । शिक्षकको मनोबल बढोत्तरी गर्न तालिम, पुर्नताजगी तालिम, शिक्षक पोशाक भत्ता समेत दिएको छ राज्यले । यहाँ भन्दा के गर्ने हो त ? तर, उपलब्धी एसएलसीको मात्र हैन, कक्षाको एकको पनि हविगत उही छ । शिक्षक मित्र, विद्यालय सुधार्ने शिक्षकले हो । हामी राजनीति नेताले बिगारेको आरोप लगाउँछौं, उनैलाई देश बिगारेको आरोप लगाउँछौं, विकास निर्माणका काम अड्डा र त्यहाँका कर्मचारीले सही रुपमा नगरी बिगारेको आरोप लगाउँछौं । उसो भयो विद्यालय बिग्रार्ने चाहिँ को त ? जहाँ जागिर खाएर आफ्नो जीविकोपार्जन भएको छ, घर व्यवहार चलाउन र बालबच्चा पढाउन टेवा पुगेको छ, के त्यहाँ शिक्षकहरुले सक्दो प्रयास गरेर काम गर्नु पर्दैन ? के त्यो दायित्व शिक्षकको हैन ? ठग्न, बिहानभरी काम गरेर दिनभरी थकाइ मार्न, दिन बिताउन शिक्षक भएको भए मैदान खाली गर्नु जाती हुन्छ । शिक्षक सेवा आयोगले विज्ञापन गर्छ । कट्टीमट्टी गरेर सेवा सुविधा जे जति आउँछ विद्यालय शिक्षक किताबखानाले हिसाब निकालीदिन्छ, त्यहीं बुझेर बसे हुन्छ । बाटो प्रशस्त पनि गर्न जान्नु पर्छ । नत्र गरिब जनताका छोराछोरी पढ्ने विद्यालयमा, त्यहाँ पढाउने शिक्षकले जागरुक भएर, राजनीति चुत्थो र जागिर उच्च मानेर कर्म गर्नुको विकल्प छैन ।

शिक्षकले विद्यालयलाई सिरानी बनाउनुपर्छ । हरदम विद्यालयको विकासको लागि काम गर्नुपर्छ । प्रधानाध्यापक बन्न चाकडी गर्ने प्रअले के बनाउला विद्यालय विकास योजना ? बनाएपनि कार्यन्वयन गर्न तत्परता देखाउँला र ? शिक्षकले विद्यालयलाई पाउ बनाइएका छन् । दश बजेबाट चार बजेभित्रको ६ घण्टे डिउटीले मात्र हुदैन । दौडेर दश बजे पुगेर अरु कार्यालयमा जस्तो काम गर्छु भनेर हुदैन । उदाहरणको लागि एक वर्ष परीक्षणको लागि मात्र भनेपनि शिक्षक ९ बजे विद्यालय पुग्ने रणनीति बनाएर अघि बढौं त, नतिजा के कस्तो आउँदो रहेछ । निश्चयनै शिक्षण पेशा दुखी पेशा हो । रमाइलो र आनन्द मान्न सके यसले जति सन्तुष्टि अरु कुनै पेशाले पनि दिदैन । अमिरहरुले नपाउने सन्तुष्टि शिक्षण पेशाबाट पाइन्छ । तर, रमाउन नसक्नेहरुलाई शिक्षण जस्तो घाँडो पेशा केही हुदैन । शिक्षकले दिनभरीको लागि सिर्जनात्मक सोचाइ लिएर बस्नुपर्छ । अध्ययन गर्ने बानी बसाल्नुपर्छ । तर, उनीहरु बिरलै मात्र पुस्तकालय जान्छन् । कोर्स पढ्नु र पढाउनुमा आकाश जमिनको अन्तर छ । विद्यार्थी हुदा पढेर पास मात्र हुने हो, पढाउन चाहिँ त बेस्मारी पढ्नुपर्छ । जुन तहको शिक्षक भएपनि अध्ययनशील रहनुपर्छ ।
म आफैं पनि शिक्षक हुँ । तर, एक दश कक्षामा पढाउँदिन । मैले पढाएका विषयका पनि हविगत उही छ । धेरै पास हुदैनन्, पास भएपनि कनिकुथी पासांक मात्रै आउँछ । आफूले जान्नु र अरुलाई जान्ने बनाउनु फरक कुरा रहेछ । जतिजति माथिल्लो तहको पढाइ छ, झन् अवस्था गिर्दो छ । परीक्षाफल आएको दिन चिन्ता गरेर मात्र अर्को वर्षको नतिजा सुधार पक्कै आउँदैन । पढाइशैली सुधार्न सके परीक्षा अवश्यनै सुध्रिन्छ । राम्रा शिक्षकले पढाएका विद्यालयको एलएलसीको नतिजा असन्तोषजनक छ । सबै विद्यालयको उस्तै नतिजा भएपछि सबैलाई अक्षम, अविज्ञ, पाटे भन्नु पाँडे गाली गर्नु सरह हो । त्यसो गरेर एकछिनलाई आत्मरतिमा रमाउन सकिएपनि दीर्घ सुधार हुदैन । शिक्षणमा सुधार्न फरक शैलीले शिक्षण गराउन सकेमा विद्यार्थीमा समालोचनात्मक चिन्तन र सिर्जनात्मक बानीको विकास गर्न सकिन्थ्यो ।
समाजले खोल्छ विद्यालय । समाजको माग र आवश्यकताको लागि खोलिन्छ विद्यालय । विद्यालय चलाउँछ समाजले । नियम बनाउने, प्रशासन गर्ने, पढ्ने, पढाउने सबै समाजका सदस्यले नै गर्ने र, अन्तत लाभ लिन्छ समाजले नै । यसमा सरकारले साथ दिन्छ र कैंयन गैरसरकारी र व्यक्तिहरुले पनि साथ दिन्छन् । नेपालका पाठशालादेखि प्राथमिक विद्यालय हुदै निमावि, मावि र अहिले उमावि भएका सामुदायिक विद्यालयहरु सबै दुख र आवश्यकताका उपज हुन् । कुनै पनि विद्यालय यस्तो छैन जहाँ तत्कालीन अवस्थामा शारीरिक, मानसिक र जिन्सी श्रम विना स्थापना भएका । त्यसैले अहिले हामीले बृद्धबृद्धा देखेका, अशक्त देखेका र नबोलाइएका, नसम्झेका त्यो पुस्ताको दान, जोरजुलुम सल्लाह, अभ्यास, अथक मेहनत र भगीरथ प्रयत्नले ती विद्यालयहरु स्थापित भएका हुन् । त्यतिबेलाका शिक्षकले पढाएको बेतनको रुपमा जिन्सी बस्तु लिएर, स्वंयसेवा गरेर विद्यालयहरु स्थापना भएका हुन् । यो कुरा पनि विद्यालयहरुले बुझन् जरुरी छ । त्यही पुस्ताले मुठीदान, मानोदान, श्रमदान, भूमिदान गरेर दुखका साथ प्रचलित नियमकानूनका अल्झनहरु झेलेर स्थापना गरिदिएका नेपालका सरकारी विद्यालयहरुको भौतिक पक्ष अहिले तगडा बनेको छ । विद्यालयहरु क्रंक्रिटको थुप्रो बनेका छन् । ती विद्यालयहरुले समयसापेक्ष रुपमा गुणात्मक परिवर्तन गर्न सकेका छैनन् । कतिपयले गर्दागर्दै धेरै गरेका छन् भने अधिकांशले चाहिँ गर्नै चाहेका छैनन् । गर्नेहरुलाई पैसा, जनशक्ति र भौतिक पक्षहरु नै अभावका रुपमा रहेको पाइन्छ भने नगर्नेहरुले चाहिँ भएकोलाई पनि सदुपयोग गर्न चाहेकै छैनन् । २०६९ सालको प्रवेशिका परीक्षाको नतिजाले तिनै सामुदायिक विद्यालयहरुको नतिजा कमजोर देखाइदिएको छ । भौतिक पूर्वाधार राम्रो बनाउन पछिल्लो समय सरकारीदेखि सामुदायिक लगानी बढोत्तरी भएगरिए पनि प्रवेशिकाको उपलब्धीले आम जनसमुदाय निराश बनेको छ । नाङो आँखाले परीक्षाफललाई नै गुणात्मकताको कसी बनाउने भएकोले भौतिक रुपमा तिघ्रे देखिएका विद्यालयले गम्भीर भएर सोच्नुपर्ने भएको छ
(खनाल आँबखैरेनी क्याम्पस र रामशाह उमाविमा अध्यापनरत छन् ।)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 15, 2013 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: