गोरखा, २८ जेठ । गोरखाका सामुदायिक वनहरूले वन जोगाएवापत रु ६१ लाख ३९ हजार पाएका छन् । जिल्लाको लुदीखोला जलाधार क्षेत्रका ३१ सामुदायिक वन उपभोक्ता समूहले यस क्षेत्रमा विगत चारवर्षदेखि वन संरक्षण गर्दै आएका छन् ।
वन संरक्षण गरेवापत कार्वन मापनको आधारमा यहाँका सामुदायिक वन उपभोक्ता समूहलाई बीउ पुँजीका रूपमा बर्सेनि रकम वितरण गरिँदै आएको छ ।
वन जोगाएवापत एउटै सामुदायिक वनले रु दुई लाख १२ लाखसम्म प्राप्त गरेका छन् । निर्माण व्यवसायी सङ्घको सभाहलमा आयोजित कार्यक्रम आज तेस्रो किस्तावापत रु २१ लाख ६९ हजार ९६५ वन उपभोक्ता समितिलाई वितरण गरिएको छ ।
लुदीखोला जलाधार क्षेत्रअन्तर्गत लामीडाँडा, लुदीदामगाडे, घलेडाँडा रानाखोला, गङ्गटे÷बाउन्नेचउर, भालुखोला सोती, कुवाडी, टक्सारटारी, विरिन्चोक, ठोकने भञ्ज्याङ, बाघेपानी, सिरौटे, क्यामुनेडाँडा, शिखरबर भञ्ज्याङ, महालक्ष्मी, सान्धान विसौनी, खार्कोपाखा, चिसोपानी, शिखर, खर्कण्डेपाखा, गोलडाँडा, बडहरे, पुङ्चे, लुदी, रामलक्ष्मण, लक्ष्मी महिला, पाताल्याप्चे, आँपश्वाँरा÷भवानीपाखा, सितलुपाखा, भङ्गेरीस्थान घण्टारी र माझिखोला सामुदायिक वन रहेका छन् ।
जिल्लाको बुङ्कोट, घैरुङ्ग, ताक्लुङ्ग, बक्राङ र गोरखा नगरपालिकाका गरी कुल ३१ वटा सामुदायिक वन उपभोक्ता समिति यस कार्वन मापन योजनाअन्तर्गत परेका छन् ।
जिल्लामा सञ्चालित रेडप्लस कार्यक्रमअन्तर्गत नोराल्ड नामक संस्थाले कार्वन सञ्चितिको रकम उपलब्ध गराउँदै आएको छ । वन जोगाउने कार्यक्रममा इसिमोड, एन्साब र सामुदायिक वन उपभोक्ता महासङ्घले सघाउँदै आएका छन् ।
सोमबार गोरखामा आयोजित रेडप्लस परीक्षण वनकार्वन कोष बीउपुँजी वितरण समारोहमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले सामुदायिक वन जोगाउन सके नेपालमा ठूलो पुँजी भित्रिने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ गोरखाका अध्यक्ष रामबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा एमाओवादीका कृष्णराना मगर, नेपाली काँगे्रसका भूगोल थापा, नेकपा (एमाले)का विशेश्वर कट्टेल, जिल्ला वन कार्यालय गोरखाका प्रमुख दुर्गा बहादुर कार्की, हरियो वन कार्यक्रममा विष्णु आचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस
–––––––