गोरखा- जिल्लाको केरौंजा गाविसका स्थानीय जनता यार्सागुम्बा सङ्कलनका लागि हिँडेपछि गाउँ नै खाली झैं भएको छ। यार्सागुम्बा सङ्कलनका लागि मनाङतिर लागेका उनीहरु असार अन्तिम सातामात्रै घर फर्कने गाविस सचिव टेकबहादुर घर्तीले बताए।
गाउँलेहरु किरा टिप्नका लागि लेकतर्फ लागेपछि जिल्ला प्रशासन कार्यालय गोरखाले गुम्दाको माछाखोलामा राखेको घुम्ती शिविरमा सेवा लिनेहरुको सङ्ख्यामा समेत कमी आएको छ। जिल्लाका विभिन्न गाउँ विकास समितिका मानिस मनाङका नम्के, पिसाङ, हुडे लेकलगायत विभिन्न हिमालमा पाइने यार्सागुम्बा सङ्कलनका लागि हिमालतर्फ जाने गर्दछन्।
गाउँका १८ देखि ६० वर्ष उमेर समूहका महिला पुरुष सबै यार्सागुम्बा टिप्न गएका कारण सिङ्गो गाउँ नै सुनसान बनेको केरौंजाका स्थानीयवासी मानबहादुर गुरुङ बताउँछन्। नार हत्याकाण्डमा स्कुले बालबालिका समेत मारिएपछि उनीहरु यार्सा टिप्नका लागि जान छाडेका छन्।
उत्तरी गोरखाका छेकम्पार, काशीगाउँ, चुम्चेत, ल्हो लगायतका स्थानमा यार्सा पाइने भए पनि कम गुणस्तर भएको कारण टिप्ने गरिँदैन।
गाउँमा हिँड्डुल गर्न नसक्ने मात्रै छन् बाँकी सबै किरा टिप्न गए भन्नुहुन्छ स्थानीय धनबहादुर गुरुङ। गोरखाको आरुघाटबाट मनाङसम्म उनीहरु गाडीमा जाने र माथि लेकमा पुगेर यार्सा टिप्ने ठाउँ ओगटेर बस्ने गर्दछन्। घरको आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक सङ्कलनका लागि गोरखाका नागरिकहरु त्यसतर्फ लागेका हुन्। जिल्लाको उहिया, गुम्दा, लापु, थुमी, सिर्दीवास लगायतका क्षेत्रका मानिस पनि त्यसतर्फ लागेको त्यहाँस्थित गाविस सचिवहरुले जानकारी दिएका छन्।
एउटै यार्सागुम्बाको ५०० रुपैयाँमा टिपेकै ठाउँमा ठेकेदारले किन्ने हुँदा यार्सागुम्बाबाट राम्रै आम्दानी हुने स्थानीयवासी बताउँछन्। जाँदा–आउँदाको खर्च बराबरजस्तै भए पनि धेरै किरा टिप्न सके आम्दानीसमेत हुने मनाङतर्फ हिँडेका केरौंजाका स्थानीय दिलबहादुर गुरुङले बताए। रासस