भगवान खनाल
माघ १६
पृथ्वी राजमार्गमा पर्ने रोदी खोलामा पुल निर्माण कार्य शुरु गरिएको छ । तनहुँको आँबुखैरेनी गाउँ विकास समिति वडा नं. २ मार्किचोकस्थित रोदी खोलामा वक्स कल्भर्ट किसिमको पुल निर्माण शुरु भएको हो । बाटोलाई खोला माथिबाट डाईभर्सन गरी पुल निर्माण गरिएको छ ।
पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं १ दमौली तनहुँले पुल शुरु गरेको हो । गत आर्थिक वर्षमा ठेक्का सम्पन्न भइ निर्माण थालिएको पुलको लम्बाइ ३७ मिटर छ । अठार महिनामा निर्माण सम्पन्न हुने सो पुल निर्माणको जिम्मा ड्रयागन–हिरा–नमिता र सुवेदी निर्माण जे.भीले लिएको छ । सो पुलको लागत २ करोड २ लाख लिएको पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं. १ दमौलीका लेखा अधिकृत ज्ञानेन्द्रराज ओझाले बताए ।
बर्षेनी बाढी आउँदा यो खोलाले सडक आवागमनमा समस्या पार्दै आएको छ । बाढी आउँदा मात्र हैन, बाढी नआउँदा पनि खोलाको कारण सडकमा खाल्टाखुल्टी रहेको स्थानीय पदम आलेले बताए । खोला सडकको माथिमाथिबाट बग्ने हुदा ठूलो पानी आउँदा पृथ्वी राजमार्गनै बन्द हुने समस्या हुदै आएको छ ।
तस्बिर ः रोदी खोलामा निर्माणाधीन पुल । भगवान खनाल ।