भगवान खनाल
देउराली(मझुवा),१४ पुष
गोरखकाली खेलकुद मैदानमा तनहुँ आँबुखैरेनी र गोरखाको मझुवास्थित विभिन्न बिक्रेता र कम्पनी प्रतिनिधिबीचको एक दिने तेश्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । बिक्रेता र कम्पनी प्रतिनिधिबीच भएको खेलमा ३–० गोल अन्तरका साथ बिक्रेताहरुको समूह विजयी बनेको थियो । बिक्रेताको तर्फबाट प्रमोद वाग्लेले २ गोल गरेका थिए भने एक गोल कम्पनी प्रतिनिधिको तर्फबाट गोलकिपर अनिल श्रेष्ठले आत्मघाति गोल गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी सुर्य ब्लेण्डर्स नारीघाटका प्रमुख अमृतलाल श्रेष्ठले डिलर र कम्पनीबीच घनिष्ठ सम्बन्ध राख्न मैत्रीपुर्ण खेलले सहयोग गर्ने बताए । यस्तै कार्यक्रमका संयोजक आँबुखैरेनी व्यवसायी तथा समाजसेवी हरिभक्त श्रेष्ठले कम्पनी प्रतिनिधि र डिलर संचालक र कर्मचारी बीचको सम्बन्ध सुधार गर्न मैत्रीपुर्ण फुटबलले गत तीन वर्षदेखि प्रगाढ सम्बन्ध राखेको बताए ।
हिजो कम्पनीका प्रतिनिधिसँग बोल्न पनि डराउने स्थिति थियो, हरिभक्तले भनें, तर अहिले नङ र मासुको जस्तो सम्बन्ध रहेको छ । यस्तै मझुवाका व्यापारी जीतबहादुर भट्टले आगामी दिनमा पनि यस्तो कार्यक्रम गर्नुपर्ने बताए ।
कम्पनी प्रतिनिधिका तर्फबाट रामचन्द्र वाग्लेले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न कम्पनीहरुले सक्दो सहयोग गर्ने बताए । फुटबल खेलको प्रमुख रेफ्री प्रवीण अधिकारी थिए । यस्तै दुई किलोको सार्वजनिक गौचरणमा साँझ अबेरसम्म विभिन्न कार्यक्रमका साथ वनभोज कार्यक्रम पनि गरिएको थियो ।