भगवान खनाल
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत माओवादीले पाटी सभापति सुशील कोइरालाको लागि प्रधानमन्त्री हुने बाटो प्रशस्त गरिदिनुपर्ने बताएका छन् । “माओवादीले कोइरालाको लागि बाटो प्रशस्त गर्नुपर्छ,” देउवाले भनें, “यसको लागि माओवादीसँग अनुरोध गर्छु ।”
गोरखाको देउराली–५ स्थित गोरखकाली रबर उद्योगको खेल मैदानमा नेपाल भूतपूर्व सैनिक संघ महिला विभागको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले प्रधानमन्त्री डा. बाबराम भट्टराईले सरकार छोड्नु पर्ने बताए । प्रम र माओवादीले बाटो छोड्नुपर्छ भन्दै उनले वर्तमान अवस्थामा सहमतिबाहेक अर्को विकल्प नभएकोले देशलाई निकास दिन बाबुरामले छोड्नुपर्नेमा जोड दिए । माओवादीले संविधानका अन्तरवस्तुमा सहमति गरे कोइरालालाई प्रधानमन्त्री बनाउन सकिने बताइरहेका बेला देउवाले चुनावमा जाने भए अन्तरवस्तुको कुरा गर्न आवश्यक नरहेको तर्क गरे ।
नेपाललाई अप्ठेरा अवस्थामा राख्ने कसैको अधिकार छैन भन्दै उनले बाधा अड्काउ फुकाउन जरुरी रहेको पनि बताए । उनले संविधान सभाको म्याद इमरर्जेन्सी लगाएर भएपनि थप्नुपर्ने सल्लाह प्रधानमन्त्रीलाई दिएपनि बाबुरामले त्यसो नगरेको बताए । देउवाले नेपालमा ०७ सालमा संविधान लेखिएपछि संविधान नलेखिएको पनि बताए । ६० वर्षसम्म नेपालमा संविधान लेखिएन भन्दै उनले संविधानको लागि फेरी संविधान सभाको चुनावमा जानुपर्ने बताए । उनले जनता मालिक हुनुपर्ने गरी संविधान हुनुपर्ने धारणा राखे । सो अवसरमा नेपाली काँग्रेसका युवा नेताहरु कमला पन्त, सुरेन्द्र पाण्डे र शंकर भण्डारीले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मन्तव्य दिदै देउवा तस्बिर ः भगवान