भगवान खनाल
गोरखाका देउरालीका किसानहरुले आफ्ना गाईभैंसीलाई समस्या पर्ने बित्तिकै दिगम्बर चौधरीको मोबाइल फोन ९८४६२४३३१६ मा सम्पर्क गरिहाल्छन् । देउरालीका मात्रै हैन गोरखाका धुवाँकोट, च्याङली, मनकामना, पालुङटारसम्मका किसानहरु गाई भैंसीमा समस्यमा आउँदा उनै दिगम्बरलाई खबर गरिहाल्छन् ।
किसानले दिएको सूचनाको आधारमा ढिलाई नगरी उनी औषधी र उपचार गर्ने उपकरण बोकेर मोटरसाइकल वा पैदलनै किसानकोमा पुगिहाल्छन् । यसरी उनले उपचार गरिरहेको करिब चार वर्ष हुन लागेको छ । तर उनी गोरखा पशु कार्यालयका कर्मचारी भने हैनन् । उनी तनहुँ पशु कार्यालय अन्तर्गत आँबुखैरेनी पशु उपकेन्द्र बरादीका प्रमुख हुन् । दिगम्बरले पुराएको सुविधा कहिल्यै भुल्न नसक्ने देउराली–७, सिम्लेफाँटका खिलबहादुर अधिकारीले बताए । पैसा भन्दा पनि किसानको समस्यालाई प्राथमिकता दिएको चौधरीले बताए । किसानको चाहना अनुसारनै जाने आउने खर्च मात्रै लिने गरेको उनले बताए ।
बनौली–८, सप्तरी घर भएका दिगम्बरले जागिर खाएको २७ वर्ष भएपनि स्थायी भएको १ ८ वर्ष भयो । किसानको मागको आधारमा छिमेकी जिल्ला गोरखाको पनि विभिन्न स्थानहरुमा गएर सेवा दिने गरेको उनले बताए । पशुहरु बिरामी हुदा पशु सेवा उपकेन्द्रमा ल्याउन कठीन हुने हुदा किसानको घर गोठमै गएर सेवा दिनु आफ्नो पहिलो उद्देश्य भएको चौधरी बताउँछन् । “पशुमा देखिने कतिपय समस्याहरुमा तुरुन्तै प्राविधिक सेवा नपाएमा ज्यान जाने खतरा हुन्छ,” चौधरीले भनें, “किसानहरुले खबर गरेपछि समस्या अनुसार तुरुन्तातुरुन्तै पनि सेवा दिन्छु ।”
प्रायजसो गाई भैसीमा डिस्टोकिया( बियाउँदा बच्चा अड्कने वा भँडार फर्कने) समस्यामा १ देखि डेढ घण्टा बीचमा उपचार नपाए ज्यानै जानसक्ने चौधरी बताउँछन् । यस्ता समस्याहरु धेरै आउने मध्येको एक हो । यस्तै, उन्नत पशुमा मिल्क फिभर, थुनेलो हुने, गर्भधारण पटकपटक उल्टने(रिपिटबिडिङ) पनि गाई भैसीमा देखिने मुख्य समस्या हो ।
उनी १० बजेदेखि ५ बजेसम्म आफू मातहतकै कार्यालयमा हुन्छन भने बिहान बेलुकाको समय छिमेकी जिल्ला गोरखामा गएर सेवा दिने गरेका छन् । तनहुँमा बढी गाईपालन भएको गाविस आँबुखैरेनीको बरादी र बन्दिपुर गाविसको याम्पा, ढाप र डुम्रेसम्म उनको कार्यक्षेत्र हो । कार्यक्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत नै गाई भैंसीको दुध उत्पादन गरेर बेच्नु रहेकोले पशुलाई समस्या आउँदा किसानहरु झन् बढी समस्या पर्ने गरेको उनी बताउँछन् ।
उनले पुशहरुलाई कृत्रिम गर्भाधान पनि गराउँछन् । बरादीमा उनी आउँदा कृत्रिम गर्भाधनको संख्या करिब ४ सयको हाराहारीमा रहेकोमा अहिले दुवै जिल्लातर्फ गरेर १ हजार १ सय पुगेको उनले बताए । “सात वर्षदेखि कृत्रिम गर्भाधान गराउँदै आएको छु,” उनले भनें, “मैले गराएका कृत्रिम गर्भाधान ७१ प्रतिशतसम्म सफल छन् ।” यसैले उनले राष्ट्रिय पुश प्रजनन केन्द्र पोखराबाट कृत्रिम गर्भाधानमा दोश्रो पुरस्कार पनि पाए । प्रति गाई २ सय ५० र भैंसीमा ४ सय रुपैयाँ कृत्रिम गर्भाधानवापत लिने गरेको उनले सुनाए ।
गोरखा देउराली ७ सिम्लेफाँटमा खिलबहादुर अधिकारीको भैंसीलाई उपचार गर्दै पशु स्वास्थ्य प्राविधिक दिगम्बर चौधरी । भगवान