भगवान खनाल
तनहुँको आँबुखैरेनी गाविसले उपस्वास्थ्य चौकीका लागि गाविस कोषबाट खर्च हुने गरी कर्मचारी पाल्दै आएको छ । गाविसले उपस्वास्थ्य चौकीका लागि तीन चार वर्षयता अनावश्यक रुपमा महिला कर्मचारी पाल्दै आएको हो । गाविसले एक जना एअनएम र भ्याक्सिनेटरलाई आन्तरिक श्रोतबाट तलब भत्ता खुवाउने गरी पालिरहेको हो । अनावश्यक रुपमा असम्बन्धित संस्थाको कर्मचारीलाई पाल्दा गाविसलाई मासिक १० हजार रुपैयाँ घाटा हुदै आएको छ । गाविसले पालेको नीजि एएनएममा ईश्वरी शर्मा र भ्याक्सिनेटर प्रमिला गुरुङ हुन् । जिविसले उपस्वास्थ्यचौकीमा कर्मचारी नपाल्न गाविसलाई भने पनि गाविसले अटेर गरिरहेको छ । भ्याक्सिनेटर गुरुङको म्याद सकिइसकेको र शर्मालाई पनि बिदा गर्ने प्रयत्न भइरहेकोले यसको लागि केही समय लाग्ने गाविस सचिव बुद्धिप्रसाद भुषालले बताए ।
यसैबीच आँबुखैरेनी उपस्वास्थ्य चौकीमा आवश्यकताभन्दा बढी कर्मचारी देखिएको छ । उपस्वास्थ्य चौकीमा अहिले सरकारी कर्मचारी ४ जना र गाविसमार्फत २ जना कर्मचारी रहेका छन् । दिनभरी घाम ताप्नु र बस्नुबाहेक खासै काम नभएपनि अनावश्यक रुपमा कर्मचारी पाल्नु बेठीक रहेको आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषी के सी बताउँछन् । सरकारी कर्मचारी भएको ठाउँमा नीजि कर्मचारी पालिरहनु बेठीक भएको केसी बताउँछन् ।