शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाले तनहुँको आँबुखैरेनीमा भुकम्प प्रतिरोधात्मक उपस्वास्थ्य चौकी भवन निर्माण गरेको छ । राष्ट्रिय भवन संहिता २०६० अनुसार उपस्वास्थ्य चौकी भवन निर्माण गरिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाका प्रमुख दिलिपशेखर श्रेष्ठले बताए ।
शहरी विकासले दुई वर्षको अवधिमा १ करोड ३१ लाख २७ हजार रुपैयाँ लागतमा सुविधा सम्पन्न आधुनिक उपस्वास्थ्य चौकी भवन निर्माण गरेको हो । भवनको भुईतलामा दश वटा कोठाहरु रहेका छन् भने माथि दुईवटा आधुनिक सुविधा भएको स्टाफ क्वार्टरसहित पचास जना अटाउने बैठक कोठा समेत रहेको छ । भवनमा तातो चिसो गरी १५ लिटर पानी अट्ने क्षमताका दुईवटा ट्याकंीसमेत छन् । भवन निर्माण धुलिखेल लिला जेभीले गरेको हो । शनिबार एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले भवनको उद्घाटन गरें ।
सो अवसरमा गाउँ विकास समिति र स्थानीयबासीले मन्त्रीसँग उपस्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा परिणत गर्न समेत सरकारसँग आग्रह गरेका थिए । गाविस सचिव बुद्धिप्रसाद भुषालले माग पत्र पेश गर्दै पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनी सडकखण्डमा असाध्यै बढी दुर्घटना हुने भएकोले चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा परिणत गर्न, चौकीमा उपकरण व्यवस्था गर्न पनि आग्रह गरेका थिए । मन्त्री महतोले यो आँबुखैरेनीमा ट्रमा अस्पतालको आवश्यकता रहेको देखिएकोले यसको स्थापनाको लागि पहल गर्ने बताए ।