भगवान खनाल
मंसीर १, आँबुखैरेनी
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले तिहारको लक्ष्मीपूजाको रात जुवा खेलिरहेको अवस्थामा जुवाडेसहित १ लाख ९ हजार रुपैयाँ बरामद गरेको छ । आँबुखैरेनी गाविसको विभिन्न तीन ठाउँबाट प्रहरीले करिब दुई दर्जन जुवाडेहरुसहित पैसा बरामद गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लेनप्रताप सेनले जानकारी दिए ।
प्रहरीले खैरेनीका पेशेवर जुवातास खेलाउनेका घरमा छापा मारेको प्रहरीले बताएको छ । प्रहरीले बजारस्थित डाँडाटोलको एक घर र सनसाइन बोर्डिङ पछाडिको एक घरबाट क्रमशः १ लाख ८ सय रुपैयाँ र ६ हजार रुपैयाँ तथा मार्किचोकको एक घरlबाट १ हजार ८ सय रुपैयाँसहित जुवाडेहरुलाई पक्राउ गरिएको सेनले शुक्रबार प्रहरी कार्यालयमा गरिएको छलफलमा जानकारी दिए । सो रकमलाई सामाजिक काममा र सार्वजनिक हितमा प्रयोग गरिने भएको छ । छलफलले सडक सूचना सम्बन्धि राजमार्गमा होर्डिङ बोर्ड राख्न, लागू पदार्थ दुव्र्यसन सम्बन्धि पर्चा र पम्पलेटिंग गर्नको लागि रकम छुट्टाएको छ । यस्तै, स्थानीय दर्जन टोल सुधार समितिहरुलाई केही रकम र नेपाल पत्रकार महासंघ तनहुँको निर्माणाधीन भवनको लागि पनि सहयोग प्रदान गरिने भएको हो ।