सरिता अर्याल-
नेपालमा अहिले डीभी भर्नेको लहर चलेको छ। काठमाडौँका गल्लीगल्लीमा डीभी भरिन्छ लेखिएका बोर्ड लागेका पसल देखिन्छन्। डीभी भरेर अमेरिका जाने चाहना सजाएका नेपालीलाई यस्ता पसलले तान्नु कुनै नयाँ कुरा हैन। म पनि केही वर्ष तीनै डीभी परेर अमेरिका पुगेका मानिसहरूको आसपास नै बसेर फर्किएकी महिला भएकोले मेरो अनुभव पाठकसामु राख्नु चाहन्छु।
क्रिसमसको बेलामा विश्वमा सवै भन्दा रमाइलो न्युयोर्कमा हुन्छ भन्ने सुनेको थिए। मेरो पहिलो क्रिसमस थियो न्युयोर्कमा। मैले साथीसंग क्रिसमसको दिन म्यानहटनको क्रिसमस ट्री हेर्ने प्रस्ताव राखेँ। साझ पनि नपर्दै हामी म्यानहटन पुगिसकेका थियौँ। क्रिसमसको रमझम हेरेर फर्कदा अर्को दिनको सुरुवात भैसकेको थियो। हामी ट्रेन बाट ओर्लेर घर तिर पैदल नै हिडदै थियौ एक जना मानिस बाटो नापिरहेको देखियो। ऊ मात्र आमाआमा भनेर रोइरहेको थियो। आमा शब्द सुनेपछि नेपाली पो रहेछ भन्ने थाहा पाएर म र मेरो साथीले टयाक्सीमा राखेर उसलाई हाम्रो घरमा ल्यायौँ। साथीले आफ्नो कोठामा उस्ँलाई सुताइ दियो। ऊ मेरो कोठाको सोफामा आएर सुत्यो। आज चार वर्ष पछि मलाई त्यै नेपाली दाईको सम्झना आइरहेछ।
रक्सीले मातेर सुतेको मानिस भोलिपल्ट बिहान आँखा खुलेपछि त त्यो दाईले सर्माउदै भन्नु भयो – “सरी।” हामीले उनलाई चिया दिँदै भनेका थियाँै – “किन दाइ, पिएको वेलामा त आमाको खुब नाम लिइरहनु भएको थियो नि”। त्यो दिन त उनले कुरा बटार्दै बाटो तताए। दुई हप्ता पछि फेरि तीे दाईसित मेरो बाटोमा भेट भयो। त्यो समयमा उनी सहिसलामत थिए। चिया पिउन जाऊँँ भन्दै मैले उनलाई घरमा ल्याए। “दाई, रातो कि दुध हालेको चिया खाने? सुनेर उनी त रुन लागे। विराटनगरमा भएकी बहिनीले सोधेकोजस्तो लाग्यो रे उनलाई। मलाई लाग्यो – भर्खर आएको होला अमेरिका, होमसिक भएछ। “दाइ नरुनु ल, भन्नु -के छ मनमा म पनि बहिनी नै हुँ मनको पीर कसैको सामू पोखियो भने मन हल्का हुन्छ । भन्नुस – मलाइ, के पीर छ हजुरलाई “। पछि दाइले चिया पिउँदै नेपाल देखिनै सुरु भएको आफ्ना कुरा मलाई सुनाए।
“अमेरिका आउन कसलाई मन लाग्दैन र? त्यसमाथि जागिर तलमाथि परेको बेलामा त झन् चिन्ता हुनु स्वभाविक नै हो। मेरो घर सम्पन्नताले भरिपुर्ण थियो। आमा श्रीमती दुई छोराछोरी सानो सुखी परिवार। परिवारका सदस्यको आवश्यकताअनुसार चाहेको पुराउन सक्ने आम्दानी भएको मेरो जागिर थियो। तर कम्पनी घाटामा गएकोले कम्पनी नै बन्द हुने हल्ला चलिरहेको थियो। अफिसबाट घर फर्कदा अनायस मेरो आँखा डीभीको विज्ञापन राखेको पसलमा पुग्यो। म पसलभित्र पसेँ, भरेँ अमेरिका जाने फर्म। केही महिना पछि त्यै पसलेले मलाई फोन बाट जानकारी दियो – म त छानिएँ रे। डीभीको बाँकी सब काम सकिएपछि आमालाई घरमा एक्लै छोडेर हामी लाग्यौँ अमेरिका। अमेरिका पस्नासाथ बोटबाट डलर टिप्न पो पाइने हो कि जस्तो ठानेर आएको मैले पाँच महिनासम्म कुनै काम पाइँन। अङग्रेजी बोल्न नजान्ने समस्याले गर्दा श्रीमतीले काम पाउन झन गाह्रो होला जस्तो लागेको थियो। तर मैलेभन्दा श्रीमतीले नै काम पाइन चाँडो। हामी काठमाडौँबाट गाउँ जाँदा मालिक मालिक्नी आए भनेर कमैयाहरू जीउमा तेल लगाउन आउँथे भने यहाँ श्रीमतीले त्यै काम पाइन् पसलमा आउने ग्राहकहरूको जीउ मालिस गर्ने – चाहे त्यो केटा होस् या केटी। के गर्ने, त्यतिखेर हाम्रो अवस्था यस्तो भैसकेको थियो कि हामीले काम नपाए भोकै बस्नुपर्ने समय आइसकेको थियो। मन अमिलो पार्दै श्रीमतीलाई यस्तो काम गर्न पनि मैले अनुमति दिएँ। श्रीमतीको कमाइ खाएर म काम खोज्दै थिएँ। अमेरिका आएको पाँच महिनापछि मैले काम पाएँ। पाकिस्तानीको रेस्टुरेन्टमा भाडा माझ्ने काम। केही काम नभएकाले मैले त्यही भए पनि गर्दै गरूँ भनेर काम शुरु गरो। काम शुरु गरेको दुई हप्तामै मेरो प्रमोशन भयो वेटरमा। तीन महिनापछि रातीको सिप्टको क्यासमा बस्ने मान्छेले काम छोड्यो। साहुले पैसा बढ्छ, काम राम्रो छ। गर्छौ? भनेर सोध्यो। मैले नेपालबाट आउँदाको ऋण सम्झेर हुन्छ भनिदिएँ। दिउसो सुत्ने, राती उठ्ने शरिरले नाइँनाइँ भने पनि ऋण तिर्नको लागि म काममा तल्लीन नै भएँ। मेरो र श्रीमतीको भेट अब हप्तामा एक दिन मात्र हुन थालेको थियो। उनी घर आइपुग्दा म काममा हिडिसक्ने! म आउँदा उनी हिडिँसक्ने। हामी त काम गरिरहेका थियौँ। तर केटाकेटीहरू निस्ताइरहेका थिए। सधै आमाबाबु र हजुरआमाको काखमा हुर्किएका हाम्रा नानीहरू एक्लाएक्लै घरमा बस्न बाध्य थिए। भोक लागेको सुनिदिने उनीहरूका अभिभावक उनीहरूको सामुन्ने थिएनन्। हामी दुवैजना गाँस, बास, कपास र नेपालबाट ल्याएको ऋण तिर्नको लागि काममा नै ब्यस्त भएर छोराछोरीलाई समय दिन सकिरहेका थिएनौँ।
छोराछोरीलाई हामीले घरमा समय दिन नसकेको भनेर स्कूलबाट पत्रहरू आइ रहन्थे। दिनको बाह्चौध घण्टा परिश्रम गरेपछि घरमा आएर खानुभन्दा पनि सुत्न हतार भइरहेको हुन्थ्यो।
“छोराको पेन्टमा चुरोटको ठूटो भेट्याएँ लुगा धुँदा” – एक दिन श्रीमतीले भनिन्। ओहो, छोरो बिग्रने भयो कि क्या हो? अमेरिकामा छोराछोरी कुट्नु हाुदैन छिमेकीले थाहा पाए र पोलिदिए भने पुलिस आएर सजाय दिन्छ रे भन्ने सुनेको थिएँ। छोरालाई समय दिएर सम्झाउन मसित समय थिएन। बोलाएर सिधै गाली गरो। तर छोरोमा मेरो गालीले कुनै असर गरेन छ ऊ बिँग्रदै गएछ। एक दिन त मलमा गएर चोरी गरेछ। क्यामरामा देखिइहाल्यो, पुलिसले समाएछ र मलाई काममा छादै फोन गर्यो। फोन सुन्नासाथ म मलमा पुगाे छोरालाई समय दिन्छु भन्ने वाचाबन्धन गराएर मात्र पुलिसले छोरो मलाई दियो। छोरोले फेरि त्यो मलभित्र पस्न नपाउने गरी केके फोटो र छापहरू लिएर मात्र छोरालाई छोडिदिए। अब मेरो छोरो त्यो मलभित्र पस्यो भने साइरन बच्छ रे। मन अमिलो पार्दै म छोरालाई लिएर घर फर्किए। घरमा आएर बुढीसित कुरा गर्दै मैले भने – “अब छोराको भविष्य के होला? उसलेे त पुरै जिन्दगी अमेरिकामा बिताउनु पर्ने र यो उमेरमा नै पुलिसमा छोरोको रेकर्ड नराम्रो भयो।” अब के गर्ने होला भनेर हामी दुबै चिन्तित भयाँै। त्यो दिन बुढी पनि काममा जान सकिनन्। घरमा त्यो दिन हामी दुवै बुढाबुढीलाई केही खान मन लागेन। हामी दुवै केही नखाई बिस्तरामा पल्टियाँै।
पुलिसमा हाम्रो घर र छोराको सबै रेकर्ड त छादै थियो, त्यसपछि अमेरिकन प्रहरी त दिउँसो, साँझ छोराछोरीहरू मात्र घरमा भएको समय पारेर घरमा आएर छोराछोरीसित गफ गर्न थालेका रहेछन्। केटाकेटीहरूलाई अनेक थरी उपहार दिँदै उनीहरूसित अनेक कुरा – जस्तो हामीले छोराछोरीलाई समय दिएको छ कि छैन बुझ्ने गर्दा रहेछन्। त्यो थाहा पाएपछि हामीले एकजना घरमा हुनेगरी काम गर्ने समय घटायाँै। म राती, श्रीमती दिउँसो नै काम गर्न थाल्यौँ। तर के गर्नू, हाम्रो त्यो निर्णय ढिला भइ सकेको रहेछ। एक दिन त छोरो स्कूलबाट ढिलो फर्कियो, श्रीमती आइसकेपछि पनि छोरो आएन। मलाई काममा जान ढिला भैसकेको थियो तर छोराको खोजी त गर्नै पर्यो। हामी यताउता फोन गर्दै उसकोे खोजी गर्न थाल्याँै। अलिराती भैसकेपछि छोरो रक्सीले मात्तिएर घर आयो। मलाई सारै रिस उठ्यो मैले दुईतीन झापड छोरालाई हानाे। ऊ रुँदै बेडरुममा पसेको थियो, पुलिसलाई पो फोन गरेछ। नाबालक छोराले रक्सी खायो भनेर चड्काएको त केही बेरमै ठूलो घटना भएजस्तो घरभित्र, बाहिर, बाटो सबैतिर पुलिस नै पुलिस!पुलिस आएपछि पो हामीले छोराले फोन गरेर पो पुलिसलाई बोलाएको कुरा थाहा पायाँै। रक्सी खाने छोराले केही गल्ती गरेन, तर मैले गल्ती गराे छोरालाई पिटेर, पुलिसले हामीलाई नै दोषी बनायो। मलाई केही कागजहरूमा सहीगर्न लगाएर हाम्रो छोरालाई लिएर पुलिस गयो। पुलिसको भनाइअनुसार अब हामीले छोरालाई वालिग भएपछि मात्र पाउने रे। छोरो वालिग नभै हामीले उसलाई भेटन पनि पाउदैनाँै रे। त्यो दिन पुलिसले छोरालाई लिएर गएदेखि हामीले छोरालाई देख्न पनि पाएका थिएनाँै। अब हामीसित छोरी मात्र थिई।
छोरो गएको एकवर्ष पनि नभई हाम्री बच्ची पनि उसकोे ब्वाइफ्रेन्डसित बस्न गई। छोरीले पनि छोडेर गई भनेर हामी पुलिसमा रिपोट गर्न गयाँै भने फेरिहाम्रै दोष देखाएर हामीलाई नै जेल हालीदिन्छ कि भनेर हामी चुप नै भयौँ। हाम्रो नेपालमा भए छोरी पोइल गइ भनिन्थ्यो तर यहाँ लिभिङ्ग टुगेदर रे। जे भने पनि हाम्रो मनस्थिति त नेपाली नै हो नि। हामीले हाम्रो संस्कार छोरीलाई पनि दिन सकेनछौँ। छोरी आफ्नो रगत, माया त लागि हाल्छ नि। ऊ घरमा आउनजान गर्न थालिसकेकी थिई। छोरीको मायाले गर्दा हामीले कालेलाई पनि स्विकार्नै परेको थियो।
हामी बुढाबूढीको काम रातदिनकै थियो। दुईजना मात्र भएकाले फेरी हाम्रो कामको समय बढ्दै गयो। हामी दुवै जिउँदो लासजस्तो भएका थियाँै। हामीमा अरू नेपाली साथीभाइले गरेको प्रश्नको जवाफ थिएन पनि र बोल्न सक्ने हिम्मत पनि थिएन। त्यसैले हामी नेपालीहरूको सम्पर्कभन्दा टाढा गएर बसेका थियौँ। एक दुईजना नजिकका मानिएका साथीहरूको मात्र हाम्रो घरमा आउजाउ थियो। घरमा बस्दा अनेक कुराहरू मनमा खेल्ने भएकाले म जतिसक्दो धेरै घण्टा काममा नै बिताउन थालेको थिएँ।
एक दिन म घर पुग्दा मूलढोका खोल्नासाथ ढोकाको मुनि एउटा खाम देखेँ, के रहेछ भनेर उठाएर हेर्दा त मेरै श्रीमतीले लेखेको पत्र पो रहेछ!पत्रमा भनिएको थियो -“म हजुरको घर आजै देखि छोड्दै छु । म आफ्नो बाटो लागाे, मेरो खोजिगरिरहनु जरुरी छैन”। मैले केही सोच्न सकिँन – यो पत्रको आशय के हो भनेर। धेरै पीर भएकोले कतै उसले आत्माहत्या त गर्न लागिन!कि के हो? मैले छोरीलाई फोन गराे। छोरी र उसकोे प्रेमी दुवै आए। हामी सबैले उनको खोजी गर्यौँ, पत्ता लागेन। भोलिपल्ट मैले कामबाट छुट्टी लिएँ, हामी पुलिस रिपोर्ट गर्न जानै लागेका थियाँै कि छोरीको मोबाइल बज्यो। उनले कुरा गरिसकेपछि छोरी रुँदै मनेर आएर बसिन्। आमाले फोन गरेकी रे , आमाले अर्को विवाह गरेको रे। आमा त रमेश अङ्कलसित पो बिहे गरेर जानु भएको रहेछ!अहो, मेरै साथी। मेरो परिवार, सबैले मलाई छाडिसकेका थिए। आधा अङ्ग अर्धाङ्गनीले त झन् मलाई जिउँदै गाडेर मेरै साथीसित छि!अब मेरो बाँच्नुको उदेश्य नै के रह्यो र? अहो मेरो जिन्दगीले कुन रूप लियो!
केही दिनपछि छोरीले आमालाई भेटिन रे। त्यसपछि आमाछोरीको भेट भइ नै रहन्थ्यो, जुन कुरा मलाई छोरीले बेलाबेलामा भन्ने गर्दथिन्। मेरो साथी र मेरी भुतपूर्व श्रीमती बस्ने घर तपाईको घर बाट एक दम नजिक छ र मेरो घरबाट पनि टाढा छैन। एक दिन बाटोमा मैले मेरो त्यै साथीलाई भेटेँ। म देखेको नदेखै गरेर बढेको थिएँ उसलेे नै मलाई रोक्यो र भन्यो – हाई, के छ खबर? नरिसाऊ, के गर्ने, त्यस्तै भैहाल्यो। तिमी नभएको बेलामा तिम्रो घरमा जान्थेँ कहिले हामीबिच माया पिरती भयो, मैले पनि थाहा पाइँन। म त भाउजूसित गफ गरेर उहाँको पीर केही कम गर्न सक्छु कि भनेर गएको त हामी कहिले नजिक भएछौँ – उनी गर्भवती भएपछि पो होस आयो। गर्भपात गराउन खोजेको ढिलो भयो भन्यो डाक्टरले। अनि के गर्ने। न चाहादा न चाँहदै हामीले यै निर्णय गर्नु पर्यो।
उनले छोरा पाइन् रे, छोरीले एक दिन मलाई भनी। बच्चा तीन महिनाको जत्ति हुँदो हो, एक दिन छोरीले उस्ँलाइ लिएर आइन् मेरो घरमा र मलाइ देखाउँदै भनिन् -बुबा भाइ। मलाई त्यो भाइ शब्द यत्ति दर्दनाक भयो कि म के भनौँ।
दिन बित्दै गइरहेका थिए। छोरीकी आमा पनि कहिलेकाहीँ घरमा आउन थालिसकेकी थिइन्। मलाई उनी मेरो घरमा आएको कत्ति पनि मन पर्दैनथियो तर म नआऊ पनि भन्न सक्दिनथिएँ किनकि त्यो घर त सबै उनकै सृष्टी त थियो।
त्यो बच्चा पनि अहिले तीन वर्षको भैसकेको छ। मलाई छोरीले बुबा भनेको भएर होला ऊ पनि मलाई बुबा नै भनेर बोलाउँछ। ऊ मसित तोते बोलिले बोल्न आउँछ , मसित बोल्न आउनु उसको गल्ती त होइन तर उसको तोते बोली नै मेरो टाउकोमा बज्रपात भएको भान हुन्छ मलाई। त्यो अबोध बालकसित के रिस तर मलाई त्योसित बोल्न, खेल्न मन लाग्दैन। सानु मानिस तर ठूलो दुश्मन देख्दछु म त्यो बालक लाई।
नेपालमा एक्लै छोडेर आएको आमाको फोन आइरहन्थ्यो मलाई – “आइज न एकपल्ट नेपाल, कहिले आउछस्? के म मरे पछि मेरो क्रिया गर्न मात्र आउछस् कि के हो?” म के भन्दै जाउँ्क नेपाल? आमालाई केही थाहा छैन, मेरी बुहारी, नाति, नातिनी खोइ भन्नुभयो भने म के जवाफ दिउँ? यहाँ मलाई चिन्ने एकदमै कम मानिस छन् , तिनीहरूसित म भागेर पनि बाँच्न सक्छु या मेरो बारेमा थाहा पाएर पनि उनीहरूले मलाई सोध्ने आँट गर्दैनन्। तर नेपालको हाम्रो समाज – म कसकसलाई केके जवाफ दिँदै हिड्नू। एकातिर मेरी आमा छोरो आउँछ कि भनेर मेरो बाटो हेर्दै हुनु हुन्थ्यो भने यहाँ म मेरो छोराको बाटो हेरिरहेको छु। अब त उसको आउने उमेर हुनेबेला भयो अब त आउला कि भन्दै।
एक महिना नाघ्न लागिसक्यो – आमा बित्नु भयो, आफ्नो परिवारको मुख नै हेर्न नपाई। आमा मरेको खबर पाएतापनि कामबाट बिदा दिएन भनेर म गईन नेपाल। म एक्लो छोरो, नेपालमा भए कोराभित्र बसेर आमाको काजकृया गर्नुपर्ने तर म यहाँ के गरू एक्लै? मैले आमाको दशधारा दूधको भारा पनि तिर्न सकिँन। दुखद समाचार सुनेपछि मनलाई सम्हाल्नै सकिना र त्यै दिन म निस्किएको थिएँ, जुन दिन तपाईहरूले मलाई रक्सीको धुनमा भेटेर आफ्नो घरमा लिएर आउनु भएको थियो। के गर्नु बैनी रक्सी खाए पनि पीर त भुलाउन सकिन्न रहेछ , निस्किहाल्ने रहेछ, त्यै तपाईहरूले सुन्नुभयो। केके सपना लिएर अमेरिका आइएको थियो, केके भयो। सब खत्तम भयो। उडायो सपना सबै डीभीले। ”