-शशी पौडेल,अल्डरशट युके
यो प्रश्नको उत्तर पाउन या त प्रचण्ड वा बाबुरामले मुख खोल्नु पर्छ या त ज्ञानेन्द्रले । यीनिहरुले मुख खोल्नेवाला छैनन्, खोलीहाले भने केही समय पछि आफ्नो अन्तिम हतियार प्रयोग गर्न ज्ञानेन्द्रले नै खोल्ने छन् । तर केही तथ्यपरक प्रसंगहरुलाइ नियालेर हे¥यौं भने उत्तर भेट्न सायद त्यति कठिन नपर्ला ।
जनवरी २५, २००३ सालको बिहान मर्निङ्ग वाक गइरहेको बेला प्रहरीका एक उच्च पदस्थ ब्यक्तिको गोली हानी हत्या हुन्छ । हत्या कोबाट गरियो भन्ने कुनै प्रमाण हुदैन तर हत्याको जिम्मेवारी सातवर्ष अघिदेखि मुलुकमा जनयुद्ध गरिरहेको एक भूमिगत पार्टी माओबादीले लिन्छ । अनि काठमाण्डौका एक नेवार जाती हत्याको आरोपमा पक्राउ पर्दछन् र उनलाइ जेल पठाइन्छ । सरकारी अनुसन्धानको पाटो सकिन्छ ।
जुन १, २००१ सालमा स्व राजा बिरेन्द्र र उनका सम्पूर्ण शाखा सन्तानको हत्या भएपछि चार जुनका दिन ज्ञानेन्द्रले श्रीपेंच पहिरिन्छन् । उता जनयुद्ध चलिरहेकै थियो । जनयुद्धमा खासगरि नेपाली कांगे्रस र नेकपा एमालेका मान्छेहरुलाइ खोजी खोजी मारिन्छ । यता राजा बनेका ज्ञानेन्द्रले एक पछि अर्को प्रधानमन्त्रीलाइ खारेज गर्दछन् र आफ्नो हातमा सत्तालिने बाटो खोजी रहन्छन् । अन्तत १ फेब्रुअरी २००५ सालका दिन आफ्नो हातमा सत्ता लिन सफल हुन्छन् ।
आफूले पूर्णरुपमा सत्ता हातमा लिनु दुइ बर्ष अघि राजा ज्ञानेन्द्रले प्रहरी प्रमुख कृष्ण मोहन श्रेष्ठलाइ माओबादी समस्या समाधान गर्ने उपायहरुको अध्ययन गरेर रिपोर्ट तयार पार्न आदेश दिन्छन् । राजा ज्ञानेन्द्रले कृष्ण मोहन श्रेष्ठलाइ यसप्रकारको आदेश दिएका छन् भनि भारतबाट प्रकाशित हुने समकालिन तिसरी दुनियाँ नामक पत्रिकाले आफ्नो जनवरी २००३को प्रकाशनमा प्रकाशित गर्दछ । दुइजना, राजा ज्ञानेन्द्र र कृष्ण मोहन श्रेष्ठसंग मात्र भएको यो आदेश वा कुराकानी कसरी भारतबाट प्रकाशित हुने पत्रिकाले प्रकाशन गर्न पुग्यो ?
राजा ज्ञानेन्द्र र माओबादीबीच साँठ गाँठ थियो भन्ने कुराहरु हल्ला मात्र हुन्कि कहीं कतै सत्यता पनि छ भनि खोज्न थालेको झण्डै एक बर्ष पछि केही प्रमाणजन्य कुराहरु आएको पांए । खोज्ने क्रममा मैले नेपाल सरकारका एक पूर्ब सचिब जो त्यतिबेला कार्यरत थिए संग यसबारे कुरा उठांए, उनले आफ्नो नाम नलेख्ने आग्रहमा निम्न कुराहरु फुत्काए ।
आइजीपी कृष्ण मोहनले आदेश अनुसार रिपोर्ट तयार पारी राजा ज्ञानेन्द्रलाइ भेटेर रिपोर्ट प्रस्तुत गर्न चाहे र यत्र तत्र ज्ञानेन्द्रलाइ खोजे तर दुइ तीन दिन सम्म भेट्न सकेनन् । २१ जनवरी २००३का दिन धुइ पत्ता लगाएर ज्ञानेन्द्रलाइ खोज्दा दरबारको श्रोतले उनि सोल्टी होटलमा भएको बतायो । कृष्ण मोहन बत्तालीदै सोल्टी होटलमा पुग्दछन् र रिपोर्ट हातमा लिएर ज्ञानेन्द्र छिरेको कोठाको बाहिर अधैर्य हुदै पर्खिन्छन् । केही समय पछि कोठाको ढोका खुल्दछ र त्यहाँबाट तीनजना ब्यक्ति बाहिर निस्कन्छन् । अव अनुमान गर्नुहोस् यी तीन ब्यक्तिहरु को को होलान् ? ती तीन ब्यक्ति थिए राजा ज्ञानेन्द्र, प्रचण्ड र बाबुराम । त्यसको ठीक चार दिन पछि जनवरी २५, २००३का दिन आइजीपी कृष्ण मोहन श्रेष्ठको हत्या हुन्छ । कृष्ण मोहनको अन्तको शुरुवात त्यति खेरै भएको थियो जतिखेर उनले गलत ठाउमा गलत कम्पनीका साथ राजा ज्ञानेन्द्रलाइ भेटेका थिए ।
स्मरण रहोस त्यतिखेर सम्म माओबादीले राजा ज्ञानेन्द्रले उठाएका कुनै पनि कदम बिथोल्ने प्रयास समेत गरेको थिएन ।
प्रचण्ड र बाबुरामले ज्ञानेद्रलाइ किन धोका दिए त ? यो प्रश्नको उत्तर अझै पनि अनुत्तरित छ । तर मैले यहाँ एक अर्को प्रसंग उजागर गर्न चाहहान्छु । जुन प्रसंगले उक्त प्रश्नको उत्तर भेटाउन सायद सहज पार्ने छ ।
जव दिल्लीमा १२ बुंदे सम्झौता हुदै थियो त्यतिखेर उक्त सम्झौतामा लिखत वा सामान्य चर्चामा समेत गणतन्त्रको कुरा आएको थिएन भन्ने कुरा नेपाली कांग्रसका नेता डा शेखर कोइरालाले केही दिन अघि बीबीसी नेपाली सेवासंगको कुराकानीमा प्रश्ट शब्दमा भनेका छन् । उनले उक्त कुराकानीमा भने “१२ बुंदे सम्झौतामा न त गणतन्त्रको कुरा उठेको हो नत संघियताको कुरा उठेको हो । सम्बिधानसभाको निर्बाचन पछि अचानक प्रचण्डले गिरिजाबाबुसंग गणतन्त्रको कुरा उठाउनु भयो । त्यतिखेर म संगै थिंए, गिरिजाबाबुले यसबारे अहिले कुरा नगर्ने भनेर भन्नु भएको हो । खै माओबादीहरुले अचानक यी कुराहरु किन उठाए ? र आखिर संसदबाट पास पनि गराए ।”
यसरी हाम्रो अगाडी झण्डै आधा दर्जन प्रश्नहरु अनुत्तरित भएर उभिएका छन् । जस्तै दरबार हत्याकाण्ड, मदन आश्रित हत्याकाण्ड, कृष्ण मोहन हत्याकाण्ड, माओबादीहरुले राजा ज्ञानेन्द्रलाइ भन्दा ठुला प्रभू भारतीय गुप्तचर संस्थालाइ देखेर ज्ञानेन्द्रलाइ दिएको धोकाको काण्ड । आदी आदी ।