काठमाडौं, फागुन १० । पूर्व राजा ज्ञानेन्द्र अब देश दौडाहामा निस्कने भएका छन् । प्राप्त जानकारीअनुसार, यही फागुनको तेस्रो सातादेखि उहाँको देश दौडाहा कार्यक्रम सुरु हुने र कम्तीमा चैतको दोस्रो सातासम्म चल्नेछ। भ्रमणको उद्देश्य नितान्त धार्मिक रहेको समाचार स्रोतले जनाएको छ। कार्यक्रमअनुसार, यही फागुन १८ गतेदेखि सुनसरीको झुम्कामा सुरु हुने पुराणको शुभारम्भ पूर्वराजाबाट गरिँदै छ, उक्त कार्यका लागि ज्ञानेन्द्र सोही बिहान हवाईजहाजबाट विराटनगर हुँदै झुम्का जाने कार्यक्रम छ। विभिन्न जिल्लाबाट धार्मिक समारोहहरूको समुद्घाटनका लागि निमन्त्रणा प्राप्त भए पनि कहाँ कहिले जाने भनेर कार्यक्रम तय भइनसकेको बताइन्छ।
तर एक महिनाभित्र मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा हुने धार्मिक समारोहहरूमा उनले भाग लिने निश्चित भइसकेको छ। धार्मिक कार्यक्रमहरूमा हुने पूर्वराजाको सहभागिताको राजनीतिक अर्थ खोजिने सम्भावना त छँदै छ, तर त्यसको कसरी अर्थ लगाइएला प्रतीक्षाको विषय बनेको छ।केही समयको भारत भ्रमण सकेर एक साताअघि मात्र स्वदेश फर्किएका पूर्व राजालाई शिवरात्रिमा पशुपति दर्शनका बेला सर्वसाधारणको भीडले व्यापक स्वागत गरेको थियो। शिवरात्रि मनाउन पशुपति पुगेका सर्वसाधारणले अकस्मात् पूर्वराजालाई देखेपछि आत्मीयता प्रकट गर्दै विभिन्न नारा लगाएका थिए। संविधान निर्माणको सम्भावना कम हुँदै गएको, निर्माण भइहाले पनि सर्वस्वीकार्य संविधान आउने सम्भावना नरहेको वर्तमान अवस्थामा राजाको देश दौडाहा कार्यक्रमले राजनीतिक दलहरूलाई सचेत गराउने सम्भावना भने देखिएको छ।