Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

भूत भेटेको त्यो क्षण


कृष्ण अविरल

“तैँले साँच्चै भूत भेटेकै हो ?” अहिले पनि कतिपय दाइ-साथीहरु सोध्ने गर्छन् । म उनीहरुलाई हो पनि भन्न सक्तिन, होइन पनि भन्न सक्तिन । भरसक मुसुक्क हाँसेर टारिदिन्छु, परिस्थितिअनुसार । हो भनुँ भने भूतको अस्तित्व हुन्छ भन्ने कुरालाई प्रमाणित ढंगले अघि सार्न गाह्रो । होइन भनुँ भने आफ्नै आँखाले कोण-प्रतिकोणबाट पर्गेलेको कुरा कसरी होइन भन्ने ? यद्यपि भूतसँग साक्षात्कार गरेको त्यो दिन सम्झँदा मन अहिले पनि रोमान्चित हुन्छ । ती घटनाक्रमका केस्रा केलाएर निष्कर्षमा पुग्न मन लाग्छ । अनि कहिलेकाहीँ लाग्छ- फेरि एकपटक जाऊँ कि कोसीकिनारतिर….। कमसेकम सत्य पहिल्याउन सकियो भने एउटा स्कुप त पक्कै मारिन्छ…. । त्यो घटना गएको पुसको हो । त्यो बेला म मोरङमा सयपत्री कृषि फार्म सन्चालन गरिरहेका मित्र नविन थापासँगै सुनसरीको इटहरी आइपुगेको थिएँ, मीरकुमार पोख्रेललाई भेट्न । सर्लाहीको लालबन्दीतिर घर भएका पोख्रेलजी त्यसबेला सुनसरीको खनारमा निर्माणाधीन मासु प्याकेजिङ उद्योगका सन्चालकमध्येका एक थिए । र, उनीसँग चाहिँ इटहरीस्थित खाद्य गोदम मुन्तिर बस्ने नेपाल टेलिभिजनका सुनसरी सम्वाददाता कृष्ण भट्टराईको माध्यमले चिनजान भएको थियो, छिमेकीका नातामा । थापाजी छुटेपछि काम विशेषले म पोख्रेलजी कहाँ नै रहेँ । त्योबेला आइपुगेका सुशिक्षितजस्ता देखिने केही मानिस आइपुगे र उनीहरुले भूत भेटेको र उसले गर्ने गतिविधिका बारेमा चर्चा गर्न थाले । सुरुमा त मैले वास्तै गरिनँ । भूत भनेको मान्छेको आफ्नै विगत हो । जानीजानी खराब काम गर्‍यो भने त्यो विगतले पछ्याउँछ, सताउँछ भन्ने मान्यता बोकेकाले पनि उनीहरुका गफले मलाई हाँस्यापद खुराक दिइरहेका थिए । तर मन भने नजानिँदो ढंगले उनीहरुका कुरातिर आकषिर्त भइरहेको थियो । एकछिनपछि त मनले भन्न थाल्यो, तँ पनि एकपटक गए के फरक पर्छ ! हो रै’छ भने रोचक अनुभव सँगाल्न पाउँछस् । होइन रै’छ भने पनि पत्रकारका रुपमा संगठित ठगीको भण्डाफोर गर्न पाउँछस्…। दुवै हातमा लड्डु, मौका किन गुमाउँछस् ! छटपटी बढ्दै गएपछि मैले जाँदा अपनाउनुपर्ने विधि र आवश्यक सामाग्रीका बारेमा जानकारी मागेँ । बिहानैदेखि चोखोनितो हुने, तेल र नुन भएका कुरा नखाने, महिनावारी भएका महिलालाई नछुने अनि बेलुका जानेबेला चै सिउर निस्केको कुखुराको भाले, दुई-चार प्याकेट सिन्केधुप, नौं प्रकारका फलफूल, नौं प्रकारकै मिठाइ र गुरुभेटीका रुपमा पाँच सय पचास रुपैयाँ भए पुग्ने । तर फलफूल र मिठाइचाहिँ सहयात्रीसँग मिलेर जोहो गरे पनि हुने….। मैले आफू सहभागी हुने निचोड सुनाएँ । पोख्रेलजीले फोनमा गुरुसँग सल्लाह गरेपछि भोलिको लागि टुंगो भयो, बेलुका ६ बजे धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अघिल्तिर भेट्ने गरी । पोख्रेलजी, वीरगन्जतिर बस्ने उनका भान्जा, मोरङको कुनै गाउँमा घर भइ सरकारी सेवकका रुपमा काठमाडौंमा कार्यरत एकजना र म निर्धारित समयमा धरान पुग्न इटहरीबाट प्रस्थान गर्‍यौँ । हामी पुगेपछि अरु पनि आइपुगे । केहीबेरको प्रतिक्षामा थाहा भयो, गुरुका चेलामध्येका श्रेष्ठ थरका एकजना धरानस्थित प्रहरी स्कुलमा कार्यरत शिक्षक रहेछन् भने राई थरका अर्काचाहिँ काठमाडौंमा वकालत गर्ने । कराँतेका खेलाडीजस्ता लाग्ने उनको बसाइ काठमाडौंको बुढानीलकण्ठतिर रहेछ । एकजनाचाहिँ सामुन्नेको अस्पतालमा योगा-चिकित्सकका रुपमा कार्यरत, ब्राहृमण मूलका । उनीहरुलाई मैले नजिकैबाट पढ्ने प्रयास गरेँ, बोली र व्यवहारमा संगठित ठगीको गन्ध भेटिन्छ कि भनेर । तर अहँ, पटक्कै भेटिनँ । मुख्य गुरु आइपुगेपछि हामी गन्तब्यका लागि तयार भयौँ । मचाहिँ श्रेष्ठ थर तिनै चेलाको पछिल्तिर बसेँ । चकमन्न रातमा हामी जंगल छिचोल्दै हामी पश्चिमतिर लाग्यौँ । अँध्यारोमा पनि मैले ठम्याउने प्रयास गरेँ । गन्तब्य रहेछ, चक्रघट्टीभन्दा पश्चिम कोसी किनारमा रहेको लास पोल्ने ठाउँ । जहाँबाट एक-डेढ किलोमिटर टाढासम्म मानववस्ती देखिन्नथ्यो । सबै जम्मा भइसकेपछि मैले मनमनै आगन्तुकको संख्या तेहर्‍याएर गनेँ, धरानबाट हिँडेकामध्ये कोही गायब भएकोछैन । त्यसपछि हामीलाई जुत्ता खोलेर कोसीमा गई हातखुट्टा धुन निर्देशन दिइयो । एकजना त लुगा पूरै खोलेर पानीमै चोबलिए । कारण, उनले बिहानदेखि ब्रत बसेका भए पनि नुहाउन भ्याएका रहेनछन् । गुरुले भने, ‘नुहाउन्जेल मात्रै जाडो हो, पूजामा बसिसकेपछि त जाडो सबै हराउँछ ।’ हामीलाई अङ्ग्रेजी अक्षर सि को आकारमा दक्षिण पश्चिम फर्केर बस्न निर्देशन दिइयो । अक्षता छर्केर लक्ष्मण-रेखा बनाइयो । र, त्योभन्दा अगाडि भनियो, ‘दिसा-पिसाब लागेको भए अहिल्यै गर्नुस् है, पछि पूजा नसकी बाहिर निस्कन मिल्दैन । निस्केमा हामी जवाफदेही हुँदैनौँ ।’ मैलेचाहिँ फेरि पनि टाउका गनेँ । चित्त नबुझेर दोहोर्‍याएर गनेँ । अहँ, यसपटक पनि कुनै टाउको हराएको थिएन । राई थरका चेलाले हामीलाई सल्काइएका धुपका दुई-दुईवटा सिन्का दिए । अनि गुरुको आज्ञा लिएर पूजा थाले- घरी नेपालीमा, घरी राई भाषामा मन्त्र भट्याउँदै । मन्त्रको मूल आशय थियो, करवीर नामको भूतलाई गरिएको साक्षत्कारको आग्रह । मैले आफूहरु बसेको स्थान वरपरको भूगोललाई राम्ररी नियालेँ, छेउछाउमा मान्छे लुक्न, ओझेल हुन मिल्ने ढिस्को, ढुंगो केही पनि देखिनँ । अरु सबै खोलाकिनारतिर केन्दि्रत थिए । पर कतै पानीमा भुलुक्क गरेको प्रष्ट आवाज आयो । मैले पनि त्यतै आँखा पुर्‍याएँ, पर पानीमाथि एउटा कालोकालो डल्लो हामी भएतिर आउँदै गरेको देखियो । कसैले भन्यो, ‘ऊ, हामी भएतिरै आउँदैछ ।’ त्यो डल्लो नजिकिँदै जाँदा मानव आकृतिमा देखियो, शिरदेखि पाउसम्म कालो कपडाले बेरिएजस्तो । छेउमा आइपुगेपछि गुरुका चेलाले उसलाई घेरोभन्दा बाहिरै उभिन निर्देशन दिए । उभिएपछि उसले रुन्चे स्वरमा भन्यो, ‘भोक लाग्यो, खाजा….।’ उसको बोलीको लवज मगरको थियो । गुरुका चेलाले खाजा-भुजा ल्याइदिएको बताए । त्यसपछि हामीलाई आफ्नो जिज्ञासा मेटाउन सुझाव दिए । तर आफूले प्रश्न करवीरलाई सोझै राख्न नपाइने । गुरु वा उनका चेलालाई राख्नुपर्ने । उनले त्यही प्रश्न सोधेपछि करवीरले दिने जवाफचाहिँ प्रष्टै बुझिने । हामी करिब साढेतीन घन्टा बस्यौँ, करवीरसँग दोहोरो संवाद गर्दै । वीरगन्ज, भोजपुर, काठमाडौं, धरान, झापा र सिलङदेखि आएकाहरु रहेछौँ त्यहाँ । राईजीका साहिला-ज्वाईँका सन्दर्भमा करवीरले भनेको सन्दर्भ सम्झँदा अहिले पनि हाँसो लाग्छ । भनेको थियो, ‘यसले श्रीमती हुँदाहुँदै बाहिर केटी घुमाएर हिँड्दोरहेछ । यसलाई त्यसो नगर भन्दिनू….।’ उसको जवाफ सुनेपछि हाँसोको फोहरा नै छुटेको थियो । विचरा ती व्यक्तिले त त्यसपछि केही सोध्ने आँटै गर्न सकेनन् । पछि भन्थे, “गाडीमा काम गरिन्छ, भेटेका केटी त घुमाइहालिन्छ नि ।’ उनी धरान-काकरभिट्टा रुटमा चल्ने गाडीका साहु-कण्डक्टर रहेछन् । र्फकने क्रममा म काठमाडौंबाट गएका कर्मचारीको मोटरसाइकलमा बसेँ । बाटोमा हामीले आ-आफ्ना अनुभव साटासाट गर्‍यौँ । रोचक कुरा- उनले पनि मैले जसरी नै टाउका गन्ने र देखेका क्षणहरुलाई पर्गेल्ने काम गरेका रहेछन् । एमाले सम्बद्ध कर्मचारी संगठनको नेतृत्व पंक्तिमा रहिसकेका उनी भन्दैथिए, “अब हामीले मोदनाथ प्रश्रतिले लेखेको भूतको किताब जलाइदिए हुने भो ।” ……….. …………. कमजोरी भनुँ, मैले यो अनुभव आफूभित्र राख्न सक्दै सकिनँ । पत्रकार कृष्ण भट्टराई, एसओएस बालग्राम इटहरीमा कार्यरत श्रष्टा दिनेश पौडेल, धुलावारी माविका शिक्षक महेन्द्रविलास लुइटेल र छिमेकी भाइ केशव दाहालले त आफू पनि जाने इच्छा प्रकट गरे । पशुपति बिस्कुट फ्याक्ट्री दुहबीमा कार्यरत नातेदार शिवप्रसाद दाहाललगायतले चाहिँ मजैले खिल्ली उडाउनु भयो, प्रगतिशील कुरा गर्ने मान्छे अन्धविश्वासका आडमा चलाइएको ठगीधन्दाका पछि लगेको भन्दै । भूतको अस्तित्वका बारेमा अरुलाई विश्वस्त गराउन नसके पनि आफ्नै आँखाले देखेको सत्यलाई अस्विकार गर्ने ठाउँ थिएन । तैपनि मनमा केही अनुत्तरित प्रश्न बाँकी नै थिए । त्यही बेलामा ज्योतिष-विज्ञानमा चासो राख्ने केशव दाहालले आग्रह गरे- “दाइ, एकपटक तारतम्य मिलाउनुस्, म पनि जौँ ।” नभन्दै २०६७ फागुन ६ गतेको साइत जुर्‍यो । तर जानुअघि केशवलाई लिएर म गुरुको निवास धरानमा गएँ । मान्छे पढ्नमा माहिर भएकाले मैले उनलाई भनेको थिएँ, “तिमीलाई ती मान्छे ठग हुन्जस्तो लागे भने भन्नु है…. ।” उमेरले साठीको नेटोमा हिँड्दै गरेका दोहोरो ज्यानका ती गुरुका प्रष्ट जवाफ सुनेपछि केशव पनि कोसी किनार जान इच्छुक भइहाले । उनले भने, “यत्तिका मान्छेले ठगीधन्दा नै गर्नुपर्ने कुनै कारण देखिँदैन । एकपटक जौ दाइ, अनुभव पनि हुन्छ….।” मलाई पनि थप जिज्ञासा मेटाउनु थियो । त्यसैले तयार भएँ । अघिल्लो दिन भारी वषर्ा भएकोले असाध्यै जाडो थियो । बाक्ला लुगाको जोहो गर्न हामी इप्रका धरानभन्दा पूर्व रहनुभएकी लेखिका दिदी बीना घलेको घरमा लाग्यौँ । हाम्रो कुरा सुनेर उहाँ मुर्छा पर्नेगरी हाँस्नु भयो । तैपनि सहमती दिनुभयो- “एकपटक गएर आउनु न, हो रैछ भने पछि हामी पनि जौँला ।” साँझ ६ बजेतिर गुरुका तिनै श्रेष्ठ थरका चेलाको घरमा जम्मा भएर हामी कोसी किनारतिर प्रस्थान गर्‍यौँ । संयोगवश त्यो दिन पनि हामी ११ जना त थियौँ नै, राईथरका चेला पनि काठमाडौंबाट पुगेका रहेछन् एउटी बिरामी महिला लिएर । आफूले अथक प्रयास गर्दा पनि नसकेपछि गुरुकहाँ लिएर आएको उनी बताउँथे । “सुरुमा आउँदा मैले गुरुलाई भनेको थिएँ, यदि भूत साँच्चै हो रैछ भने म तपाईँको खुट्टा समाएर चेलो हुन्छु । होइन रहेछ भने चैँ फेरि तपाईँका ढाडका करङ तीन टुक्रा बनाइदिन्छु ।” वकिल पेशा गरे पनि आफू कराँतेको फोर-डन भएको बताउने उनले भने, “चार वर्ष भयो म उहाँको चेलो भएको….।” यसपटकको स्थान अर्कै थियो । त्यो दिन संयोगले पुणिर्मा रहेछ । अघिल्लो दिन पानी परेर आकाश खुलेकोले झन्नै दुई किमी टाढासम्मको दृश्य देख्न पाइन्थ्यो । करवीरका गतिविधि प्रष्टसँग नियाल्न पाइने मोहले म रोमान्चित भएँ । यद्यपि गुरु र उनका चेलाका गतिविधिलाई अझ बढी गहिरिएर नियालिरहेको थिएँ । र, केशव भाइलाई पनि त्यसै गर्न भनेको थिएँ । सम्पूर्ण विधि पुर्‍याएपछि करवीर पहिले जसरी नै आयो । ऊ आउँदा मैले उसका गोडाका चाललाई राम्ररी नियालेँ । खै किन हो, हिँड्दाखेरि दुई गोडाको कापमा जुन उज्यालो देखिनुपथ्र्यो त्यो देख्नै पाइएन । कपडा बेरिएको हो भने हिँड्न अलि असजिलो हुनुपर्ने Û त्यो पनि भएको देखिँदैनथ्यो । करिब साढे पाँच घन्टा हामी उसको सामुन्नेमा बस्यौँ । त्यसबीचमा हामी खुम्चिएका गोडा तन्काउन आधादर्जन बढीभन्दा पटक उठ्यौँ, खुट्टा झड्कायौँ । चिलाएको ठाउँमा कन्याउन दजनौँपटक हात चलायौँ होला । तर अहँ, करवीरले एकपटक पनि हात-गोडा चलाएको थिएन । के ऊ तालिम प्राप्त सिपाहीँ थियो ? त्यसो हो भने उसले आगन्तुकका नितान्त निजी कुराहरु पनि कसरी बताउन सक्यो ? -मनमा अनेकखालका प्रश्नले परेड खेलिरहे निर्वाध । पछि केशवले सुनायो, उसलाई पनि त्यस्तै भएको रहेछ । हिँड्नेबेलामा मैले ठट्यौली गरेँ- “विदाइको हात मिलाएर आउनु पर्छ कि क्या हो ?” “आँट छ भने मिलाए हुन्छ, तर हामी जवाफदेही हुँदैनौँ ।” काठमाडौंको एउटा चल्तीका वकिलको भनाइलाई कसरी चुनौती दिनु ? मन भएर पनि आँट आएन । अचम्म त त्यो बेला भयो, जब हामी घेराबाट निस्केर जुत्ता र मोटरसाइकल राखेको ठाउँमा आयौँ । किनकि हामी घेराभित्र बसुन्जेल गर्मी भएर हामीले आफ्ना टोपी र बाक्ला लुगा फुकालेका थियौँ । बाहिर त कस्तो चीसो सिरेटो ! मोटरसाइकलको सिट र जुत्ता त शितले लछ्याप्प्रै ! अरु साथीहरु हिँडिसकेका थिए । केशव र मचाहिँ झन्नै आधा किलोमिटर परको बाँधमा उभिएर फेरि करवीरलाई हेर्न थाल्यौँ । अझै पनि ऊ चल्मलाएको थिएन । त्यो रातको बास बिना दिदीकै घरमा बस्ने निधो थियो । केशव भाइका कुरा सुनेर दिदी-भिनाजु नै छक्क पर्नु भयो । उहाँहरुको जिज्ञासा थियो, “त्यत्रो क्षमता भएका मान्छेहरु अहिलेसम्म धरानमै अपरिचित किन छन् ?” तर मसँगको कुराकानीमा ती गुरु भन्थे, “अलौकिक काम भएकोले जो कोहीले विश्वास गर्दैनन् । त्यसैले मिडियामा सार्वजनिक गर्न नचाहेको ।” राति यसबारेमा हामीबीच निकैबेर मन्थन भयो । आखिर के हो त त्यो करवीर ? निचोड सुनाउँदै केशव भाइले भने, “दाइ, जे सुकै भए पनि ती गुरुहरुसँग अलौकिक शक्ति पक्कै छ । तर हामीजस्तो मान्छे तिनीहरुका पछि नलाग्नु नै बेस् ।” खासमा करवीरले मलाई आफ्नो चेलो बनाउन सल्लाह दिएको थियो ती गुरुलाई । उनको भनाइमा यस्तो सल्लाह करवीरले विरलैलाई दिन्छ । चेलो बन्नका लागि हुनुपर्ने निष्कपट र मानवतावादी व्यवहार भएको जनाउ दिँदै गुरुले भनेका थिए, “तपाईँ चेलो बन्नु भयो भने आफ्ना मृत पूर्वजहरुसँग मात्र होइन, बितेका राजा-महाराजाहरुको आत्मासँग पनि कुरा गर्न पाउनु हुन्छ । उनीहरू कसरी मारिएका थिए भनेर उनीहरुकै बोलीमा सुन्न पाउनुहुन्छ …।” खासमा म त्यही लोभले उनीहरुको पछि लागेको थिएँ । तर केशव भाइले मलाई खिसि्रक बनाइदियो । र, अहिले पनि म आफैँसँग प्रश्न गरिरहेको छु- के त्यो साँच्चैको भूत थियो ? कि इन्द्रजाल-कला अपनाएर गरिएको संगठित ठगी धन्दा ? courtesy  onlinekhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 1, 2011 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: