आँबुखैरेनी पोष्ट /रेडियो गोरखा ,असार २३ ।गोरखा र तनहूँको सीमानामा रहेको आँबुखैरेनी बजारको एक सुनचाँदी ब्याबसायीबाट करीब ८० तोला सुन चोरी भएको छ । जयलक्ष्मी सुनचाँदी पसलका प्रोपाइटर सोमबहादुर विश्वकर्माको साथबाट हतियार सहित आएका दुईवटा मोटरसाइकलमा सवार पाँचजना लुटेराहरुले सुन लुटेर भागेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । दुईवटा झोलमा सुन झुण्ड्याएर पसलबाट करीब १५० मिटर पर रहेको घर फर्कने क्रममा बीच सडकबाटै सुन लुटिएको प्रहरी निरीक्षक विरेन्द्र थापाले जानकारी दिए । सुन चोरेर गोरखातर्फ भाग्दै गरेको कालो रंगको ना।१३ प। ३४८० नंबरको मोटरसाइकल गोरखाको पाँचकिलो भन्ने स्थानबाट बरामद भएको छ भने नीलो रंगको मोटरसाइकल फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । लुटेराहरुको जिल्ला प्रहरी कार्यालय गोरखा १२ किलो प्रहरी र मझुवा प्रहरी चौकीका प्रहरीहरुले खोजी कार्य जारी राखेका छन् ।