कृष्ण न्यौपाने
दमौली, ३ वैशाख
तनहुँको मुख्य
व्यापारिक केन्द्र आँबुखैरेनी गाविस वडा नम्बर ६ मा १ करोड २८ लाख ८५ हजार
रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आँबुखैरेनी खानेपानी उपभोक्ता
समितिको नवनिर्मित पानी प्रशोधनशालाको शनिबार भौतिक योजना तथा
निर्माणमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेका छन् ।
मन्त्री रायमाझीले नेपाल जलस्रोतमा संसारकै धनी देश भए पनि त्यसको सही सदुपयोग हुन
नसक्दा नेपालले गरिब मुलुकको परिचय पाएको बताए । उनले आँबुखैरेनी आयोजनालाई
भौतिक योजना तथा निर्माण मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
नेपाल
सरकारको १ करोड ८ लाख १८ हजार र खानेपानी उपभोक्ता समितिको २० लाख ६७ हजार
४ सय ८१ रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना निर्माण सम्पन्न भएको
समितिका अध्यक्ष डोलबहादुर थापाले बताए ।
२०४७ सालमा आँबुखैरेनी
खानेपानी आयोजनाको निर्माण सुरु गरी २०५१ सालमा उक्त आयोजना निर्माण
सम्पन्न भएको थियो । त्यसपश्चात् २०५३ सालमा आँबुखैरेनी खानेपानी आयोजना
एउटा स्वायत्त संस्थाको रुपमा समितिलाई हस्तान्तरण गरिएको थियो । २०५६
सालमा संस्थाले आफ्नै लगानीमा थप खानेपानी आयोजना निर्माण गरी पानीको
क्षमतामा वृद्धि गर्दै उपभोक्ताहरूलाई निजी धाराको मागअनुसार निजी धाराहरु
वितरण गरेको थियो ।
हालसम्म संस्थाले ७ सय २० निजी र ८ वटा संस्थागत
धारा वितरण गरिसकेको संस्थाका सचिव नस्तुराम कँडेलले बताए । उनका अनुसार
संस्थाद्वारा वितरित खानेपानीबाट १० हजार बासिन्दा लाभान्वित भएका छन् ।
उपभोक्ताहरूको बढ्दो माग र आवश्यकतालाई हेरेरे संस्थाले आँबुखैरेनी
बजारसँगै जोडिएर रहेको गोरखा जिल्लाको देउराली गाविस–५ समेत ५५ वटा निजी
धारा वितरण गरेको जनाएको छ ।
यस आयोजनाले हालसालै १ करोड १३ लाख ८०
हजार रुपैयाँ बराबरको ट्रिटमेन्ट प्लान्ट प्राप्त गरेको कार्यक्रममा
जानकारी गराइएको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप खानेपानी
वितरणका लागि आँबुखैरेनी गाविसको विभिन्न स्थानमा इन्टेक, सेडिमेन्टेसन
ट्याङ्की, रिजर्भ ट्याङ्कीलगायत निर्माण गरी संस्थाले शुद्ध पानी २४ सैं
घण्टा वितरण गरिरहेको जनाएको छ ।
संस्थाको हाल १२ लिटरको २ वटा इन्टेक,
सेडिमेन्टेसन ट्यांक एउटा, रफिङ फिल्टर ट्यांक एउटा, स्लो स्यान्ड फिल्टर
ट्यांक एउटा र पानीपोखरी ४ सय घनमिटरको ३ वटा छ ।मा वितरण हुने
१० लि.÷से. पानीलाई सुरुमा पहिले नै बनेको सेडिमेन्टेसन ट्यांकीमा खसालिन्छ
। त्यसमा धमिलोपना सामान्य रूपमा घटाई नयाँ बन्ने रफिङ फिल्टर ट्यांकमा
पठाइन्छ । रफिङ फिल्टर ट्यांकमा पानीमा भएको धमिलोपन मापदण्डअनुसार प्रशोधन
भएपछि त्यहाँबाट प्रशोधित पानीलाई स्लो स्यान्ड फिल्टर ट्यांकबाट प्रशोधन
गरी पानी वितरण गर्न बनाइएको दुईवटा सफा पानी जम्मा गर्ने ट्यांकीमार्फत
उपभोक्ताहरुलाई वितरण गर्दै आएको छ ।
खानेपानी आयोजनाको हाल दुईवटा
रिजर्भ ट्यांकी छन्, जसको क्षमता १ लाख लिटर र १ लाख २५ हजार लिटर छ । सोही
रिजर्भ ट्यांकबाट एक लाइन ५ र अर्को लाइन ४ को पाइपलाइन जडान गरी बजारमा
पानी वितरण गर्दै आएको छ । समितिले पानी उपभोग गरेबापत उपभोक्तालाई न्यूनतम
५० रुपैयाँ शुल्क तोकेको छ । उपभोक्ताबाट मासिक १ लाख २० हजार रुपैयाँ
महशुल संकलन हुने गरेको छ ।