Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

प्रेम भन्न मिल्ला र? – गोविन्द अधिकारी


हाम्रो पालामा यो अढाइ अक्षरको बित्पाते शब्द गाउँघरमा चल्तीमा थिएन। ‘मन पर्ने’ वा ‘मन पराउने’ ले पनि अहिलेको प्रेमको धेरै अर्थ समेट्थ्यो। यसैले हामीले पनि मन पराएका थियौं एकअर्कालाई भन्नु सही होला। त्यसमा पनि उनलेभन्दा मैले नै पराएको भन्नुपर्छ। र बिहाचाहिं ‘नाइँ आमा मलाई त्यही केटी चहिन्छ’ शैलीमा भएको थियो।
मेरो उमेर १२ वर्ष पुग्ने बित्तिकैदेखि केटी दिनेको धुइरो लाग्न थालेपछि मलाई बिहा गर्न दबाव सुरु भएको थियो। करबलले एकाध ठाउँमा केटी हेर्न पनि गएँ। आफ्नो मन अन्तै। भन्न पनि गाह्रो नभन्न झन् गाह्रो हुन थाल्यो। १६ वर्ष लागेपछि बाबालाई भनिदिएँ – ‘म ऊबाहेक अरूसित बिहा गर्दिन’। प्रेम भन्न मिल्ला र? – गोविन्द अधिकारीडर लागेको थियो जातै मिल्दैन। के मान्लान् र?
मलाई यसो भन्न उक्साउने कांग्रेसका नेता कृष्णप्रसाद न्यौपाने हुन्। जेलमा ६ वर्ष बस्दा उनलाई मधुमेह भएको रहेछ। जन्मथलो लमजुङको दुराडाँडाँ छाडेर न्यौपाने गोरखाको छोप्राक बस्न थालेका रहेछन्। उनको आवतजावत गर्ने बाटो आँबुखैरेनी। वासबस्ने हाम्रो घरमा। म अलिअलि कांग्रेस भइसकेको। उनी आउँदा रमाइलो लाग्ने। पुराना कुरा सुन्न पाइने। एक दिन कुरैकुरामा बूढामान्छेले ‘च्यालेन्ज’ गरे – ‘के फूर्ति लाउँछौ। बाबुले एउटी सिंगाने केटी भिराइदिन्छन्। त्यहीसँग जिन्दगी बिताउँछौ।’ मैले भने – म आफैँ रोजेर बिहा गर्छु। उनलाई पनि देखाउनु थियो वास्तवमा नै म कांग्रेस (अर्थात् क्रान्तिकारी) हुनसक्ने मान्छे हुँ। अनि आँट गरेर भनेको थिए – म मखनलाई मन पराउँछु।
हामी एउटै गाउँमा जन्मे हुर्केका। सानैदेखि सँगै खेलेका। मेरो उमेरका सबै केटा बेसी जान्थे। केही हुनेखाने घरका केटीहरू मात्रै गाउँमा हुन्थे। म बाबाले दिएको अमर कोश र लघु कौमुदीको पाठ कण्ठ भएपछि तिनै केटीहरूसँग दिनभर खेल्थें। यो क्रम ११ वर्षमा बन्दिपुरको भानु हाइ स्कुलमा भर्ना नहुँदासम्म चल्यो। मैले उनलाई त्यसभन्दा पहिले नै मन पराइसकेको रहेछु। पहिलो पटक भुन्टीको आँपको बोटमा दसैंमा हालेको पिङ खेल्दा मखन असाध्यै राम्री लागेको सम्झना छ। ठूलाठूला गाजलु आँखा, गोरी अनि चिटिक्क परेकी। पिङमा हामी झगडा पनि गरेका थियौं। ऊ मुखियाकी नातिनी म पण्डितको छोरो। कोभन्दा को कम!
तैपनि मलाई सँगै खेल्नेहरू मध्ये एउटी रोज्न अलि गाह्रै भएको थियो। उनीहरू पनि हुर्कँदै जाँदा राम्रा हुन थालेका थिए। ‘आजभन्दा भोलि राम्री भोलीभन्दा पर्सी। मेरी माया कति राम्री कति राम्री होली’ भनेजस्ता। एकदिन रोजाइको त्यो गाँठो पनि फुक्यो। उनले आफ्ना साथीहरूसँग कुरा चल्दा मेरो माया लाग्छ भनिछन्। मलाई सुन्नेले सुनाए। मैले पत्याएँ। अनि छनौट सकियो।
हुर्कँदै गएपछि पहिलेजस्तो भेटघाट नहुने। उनलाई देख्‍नैका लागि म घुमाउरो बाटो हिंड्ने गर्थें। अरूले भेउ पाउलान् भन्ने कत्रो डर। बन्दिपुरपछि पढाइका क्रममा गाईखुर र काठमाण्डौ पुगें। कतै टिक्न सकिन। त्यसको अलिकति कारण उनलाई मन पराउनु पनि थियो। आफ्नो माया गाउँमा मन अन्त किन बस्थ्यो र?
अनि बाबालाई भनेको थिएँ। म मखनलाई मन पराउँछु। चार दशक पुग्छ अहिलेको फागुनले। बिहा हुँदा म १६ वर्षको र मखन १४ वर्षकी। बाबा माग्न जानु भएछ। उनका माइला बाबा र बाबा साथी पनि। ‘यत्तिको केटाले पाल्छ दिएहुन्छ।’ भनेछन्। (बिचरा बूढामान्छेलाई के थाहा राजनीतिको रोग निको नहुँदासम्म मलाई नै उनकी छोरीले पाल्नुपर्ला भन्ने।)
हाम्रा आमाहरू पनि साथी। मलाई माया गर्थे गाउँका धेरै आमाहरू। मेरी आमाको कारणले। आँप पाक्यो कसैको बारीमा भने पहिले मेरो भाग लाग्थ्यो। मखन गर्भमा छँदा उनकि आमाले छोरा पाए मीत लाइदिने छोरी भए बिहा गरिदिने वाचा गरेकी थिइन् रे ठट्टै ठट्टामा। बूढीमाउहरू पछि पनि भन्थे गर्भैमा दिएको यसलाई। तैपनि माग्न जाँदा बाहुनका छोरालाई छोरी दिन आमा मानिनन् रे। मनाउन मखनका मामा आए। मामाले मेरो अन्तर्वार्ता नै लिए। अर्को बिहा गर्ने हो कि? मखनले पकाएको खाने कि नखाने? उनको चित्त बुझ्यो। हुन्छ भनिदिए। बिचरी आमा हेरेको हेर्‍यै। जात नमिलेपछि बाहुनको घरमा हेंला गर्छन् भन्ने आमालाई लागेको रहेछ। अनि अरूले सुनाएछन् पनि राम्री देखेर बिहा गर्नेले भोलि झन् राम्री भेट्टायो भने सौता हाल्छ। छोरीलाई त्यसै फाल्यौ। मेरा हजुरबाबाले ४ र बाबाले ३ बिहा गरेका। शंका त लाग्ने नै भयो। धन्न मैले पुस्तैनी बिंडो धानिन।
बिहापछि भने हाम्रो बाटो खुल्यो। रमाइलो बिते वर्षहरू। धेरै वर्षसम्म केटाकेटीका र भर्खर बिहा भएका बेलाका कुरा गर्दा रात बितेको थाहा नै हुन्नथ्यो। अचेलचाहिं कुराकानी पनि नातिनातिनाका हुन्छन्। अनि एकजना बोल्दाबोल्दै अर्को घुर्न थाल्छौं।
सुदीपजीले प्रेम प्रसङ्ग लेख्न भनेपछि म अनकनाएको थिएँ। यो कथा त उनको पनि हो। मैले एक्लै भन्छु भनेर वाचा गर्न मिल्दैन कि जस्तो लागेर। सोधें। सधैंजस्तै उत्तर दिइन् – कुन्नि त। यही उनको स्वीकृति हो।
त हाम्रो पालाको यस्तो टाढैबाट गरिएको मायालाई प्रेम भन्न मिल्छ र?
‘अफकोर्स’ मिल्छ।

P

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 12, 2011 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: